निलम महर्जन
महान फुटबलर अर्जेन्टिनी स्टार लियोनल मेस्सीलाई अनुबन्ध गर्ने भरपुर प्रयास असफल भएपछि साउदी प्रो लीग क्लब अल हिलालको नजर अहिले फ्रान्सेली युवा स्ट्राइकर केलियन एम्बाप्पे माथि छ । अल हिलालले ५२२ मिलियन पाउण्ड प्रस्ताव गरेपनि मेस्सी अमेरिकाको मेजर लीग सकर एमएलएस क्लब इन्टर मियामी गए । तर स्टार खेलाडी भित्र्याउने अल हिलालको प्रयास भने अझैपनि जारी छ । अल हिलालले यस पटक फ्रेन्च लीग वान क्लब पेरिस सेन्ट जर्मेन पिएसजीका फरवार्ड केलियन एम्बाप्पेलाई कीर्तिमानी रकमको प्रस्ताव गरेको छ । २४ वर्षका फरवार्ड अनुबन्धनका लागि क्लबले २ सय ५९ मिलियन पाउण्डको प्रस्ताव गरेको हो । पिएसजीसँग उनको सम्झौता सकिन अझै १ वर्ष बाँकी छ । तर एम्बाप्पे सम्झौता नविकरण नगर्ने मुडमा छन् । यता क्लबका अध्यक्ष नासिर अल खालिफाले सम्झौता नवीकरण गर्न राजी नभएमा एमबाप्पेलाई पुरै एक वर्ष टोली बाहिर राखिने बताइसकेका छन् । यस्तोमा पिएसजी कि त एम्बाप्पेलाई सम्झौता थप गर्न नभए यसै सिजन अन्य क्लबमा बेच्न चाहन्छ । किनकी अर्को समर ट्रान्सफरमा एम्बाप्पेलाई निशुल्क छाड्नु भन्दा यसै सिजन एमबाप्पेलाई अन्य क्लबमा पठाउँदा आर्थिक रुपमा पनि फाइदामा हुने पिएसजीको बुझाई छ ।



एमबाप्पेलाई ट्रान्सफर बजारमा पाएसँगै अल हिलालले विश्व फुटबल बजारनै तरंगित गर्ने कीर्तिमानी रकम प्रस्ताव गर्यो । पिएसजीले छलफलका लागि समेत अनुमति दिइसकेको छ । अल हिलालसँगै चेल्सी, म्यानचेस्टर युनाईटेड, टोटनह्याम, इन्टर मिलान र बार्सिलोना समेत एमबाप्पे भित्र्याउन तयार रहेको पिएसजीले बताएको छ । यहि समयमा उनी अर्को सिजन फ्रि एजेन्ट मार्फत् ला लिगा क्लब रियल मड्रिड जाने चर्चा पनि छ । तर यदी एमबाप्पे साउदी गएको खण्डमा उनी फुटबल इतिहासकै सबैभन्दा बढी पारिश्रमिक लिने खेलाडी बन्नेछन् ।

अब एमबाप्पे साउदी जान्छन वा युरोपमै बस्छन् भन्ने विषय चासोका साथ हेरिएको छ । एमबाप्पेको चर्चासँगै अल हिलाल र साउदी प्रो लिगको चर्चा समेत चुलिएको छ । यसअघि अल नासिरले रोनाल्डोका लागि वर्षको १ सय ७७ मिलियन पाउण्ड खर्चिएको थियो । साउदी अरेबियाको सार्वजनिक लगानी कोषको स्वामित्वमा रहेको अल हिलालले यस सिजन पोर्चुगिज मिडफिल्डर रुबेन नेभ्स र सेनेगलका डिफेन्डर कौलिबाली, सर्वियन मिडफिल्डर सर्ज मिलिन्कोभिक र ब्राजिलियन मिडफिल्डर माल्कोमलाई अनुबन्ध गरिसकेको छ । आखिर किन साउदी क्लब कुनै खेलाडीका लागि पछिल्लो समय पैसाको खोला बगाउँदै छ? तेलमा निर्भर अर्थतन्त्र वृद्धीका लागि साउदीले विस्तारै खेलकुद लगायत अन्य क्षेत्रमा पनि लगानी बढाइरहेको छ । आर्थिक उन्नतीपछि विश्वमा प्रतिष्ठा र प्रभावका लागि साउदीले खेलकुदलाई अघि सारेको छ । ठूला प्रतियोगिता आयोजनाको विडिङमा सहभागीता जनाइरहेको साउदीले त्यसका लागि विश्व फुटबलको ध्यान आफुतिर तान्न पनि यसलाई माध्यम बनाएको छ ।



