म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई पाँच वटा मुद्दामा माफी दिईएको छ । विभिन्न १९ वटा मुद्दा लगाएर ३३ वर्षको कैद सजाय तोकिएकोमा सुकीलाई म्यानमारको सैन्य सरकारले पाँच वटा मुद्दामा माफी दिएको हो । यो सँगै सुकीको कैद अवधि अब २७ वर्ष कायम भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
पछिल्लो केही समयदेखि म्यानमारको सैन्य सरकार नेतृ सुकीप्रति केही लचिलो बन्दै गएको छ । यही साता सुकीलाई देशका सभामुख र विदेशी अधिकारीलाई भेट्न दिइएको थियो भने उनलाई कारागारबाट विशिष्ट व्यक्तिको आवास क्षेत्रमा सारेको छ ।
यस्तै सैन्य सरकारले पूर्वराष्ट्रपति विन मिन्टलाई पनि दुई वटा मुद्दामा माफी दिँदै १२ वर्षको कैद सजाय आठ वर्षमा झारेको छ । यस्तै सैन्य ‘कु’ पछि भएको विद्रोहको क्रममा पक्राउ परेकामध्ये सात हजार आठ सय जना कैदीको सजाय माफी भएको छ । म्यानमारको राजधानी नेपोडीमा स्थापना गरेको गौतम बुद्धको अनावरण कार्यक्रममा सैन्य सरकारले कैद छुट तथा माफीको घोषणा गरेको हो ।






