काठमाडौं । नागढुंगा सुरुङ मार्गको सहायक सुरुङ (इभ्याकुएसन) को भोलि ब्रेक थ्रु हुने भएको छ ।
भोलि अपरान्ह ४ बजे सुरुङको ब्रेक थ्रु हुने आयोजनाले जानकारी दिएको छ । २०७६ साल कात्तिक ४ गते शिलान्यास भई निर्माण सुरु गरिएको रेस्क्यू टनेलको सुरुङ मार्ग निर्माणको काम भोलिदेखि सकिने भएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला निर्माणस्थलमा पुगेपछि रेस्क्यू टनेलको ‘ब्रेक थ्रु’ गरिने बताइएको छ ।



इभ्याकुएसन सुरुङको कुल लम्बाइ २ हजार ५ सय ५७ मिटर रहेको छ । यो सुरुङ आपतकालिन अवस्थाका लागि प्रयोग गर्न बनाइएको हो । २ हजार ६ सय ८८ मिटर लामो मुख्य सुरुङ पनि अब ५ सय मिटर खन्न बाँकी रहेको आयोजनाले जनाएको छ । मुख्य सुरुङ मार्ग पनि आगामी दसैंसम्ममा ‘ब्रेक थ्रु’ गर्ने आयोजनाको तयारी छ ।



