सप्तरीको राजबिराजस्थित कुनौली मोडमा रहेको प्रहरी बीटको तस्बिर लिन खोज्दा एक पत्रकार कुटिएका छन् । स्थानीय पब्लिक मेमो अनलाइनमा कार्यरत रहेका नेपाल पत्रकार महासंघ सप्तरीका सह सचिव चन्दन यादवले तस्बिर लिन खोज्दा प्रहरी हब्लदार एम के राई र अर्जुन यादवले हातपात गर्नुका साथै मोबाईल खोसेर तस्बिर डिलिट गर्न दबाब दिएका हुन् ।
घटना लगतै नेपाल पत्रकार महासंघको सप्तरी शाखाका उपाध्यक्ष बैद्यनाथ यादवको नेतृत्वमा घटनास्थल पुगेको टोलीले दोषी प्रहरी उपर कडा कार्वाहीको माग गरेका छन् । पछिल्लो केही समय यता सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्र कार्की र प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले पटकपटक प्रेसमाथि अंकुश लगाउने काम गरेको आरोप लगाउँदै सञ्चारकर्मीहरुले साताब्यापी आन्दोलनमा उत्रिएका छन् ।






