

उपचारका लागि जिल्लाबाहिर लैजान नसक्दा हुम्लामा पछिल्लो एक महिनाको अवधिमा चार बालकको मृत्यु भएको छ ।जिल्ला अस्पतालले उपचारका लागि जिल्लाबाहिर रिफर गरे पनि परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचार अभावमा ती बालकको मृत्यु भएको हो । साथै हुम्लामा पछिल्लो समय हवाई सेवा प्रभावित भएको हुँदा पनि उपचारका लागि जिल्लाबाहिर लैजानुपर्ने गम्भीर प्रकृतिका बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था आएको छ ।
नागरिक उड्ड्ययन प्राधिकरणले हिमाली जिल्लामा साढे १२ बजेपछि उडान गर्न नपाइने नयाँ नियम लागू गरेसँगै हुम्लामा हवाई सेवा प्रभावित भएको छ । यो समय हुम्लामा बिहान मौसम खराब रहने र प्राधिकरणको नयाँ नियमअनुसार साढे १२ बजेपछि उडान गर्न नपाइने भएकोले बिरामी लगायत अत्यावश्यक कामले जिल्लाबाहिर जानु पर्नेहरु बढी समस्यामा परेका छन् ।सिमकोट गाउँपालिका–६ का सुरज सुनारले जिल्ला अस्पतालले उपचार हुन नसक्ने भन्दै रिफर गरेका आफ्ना ६ महिनाका छोरा इमरान सुनारको मृत्यु भएको बताए । आफ्नो आर्थिक अवस्था कोमजोर रहेको साथै जिल्लामा हवाई सेवा सुचारु नहुँदा छोरा गुमाउनु परेको दुखेसो पोखे ।






अस्पतालका चिकित्सक रोशन रावतले गत साउन १७ गते चिकित्सकले अस्पतालमा उपचार नहुने भन्दै जिल्लाबाहिर रेफर गरेको भए पनि लैजान नसक्दा ६ महिनाका बालकको अस्पतालको बेडमै मृत्यु भएको बताए । उनका अनुसार साउन १४ गते बालकलाई मिनोनिया भएपछि अस्पताल भर्ना गरिएको थियो ।
बालकलाई निमोनिया, झाडापखाला र जटिल खाले संक्रमण भएपछि अस्पतालका चिकित्सकले साउन १७ गते जिल्लाबाहिर रिफर गरेका थिए । त्यसयता हवाई सेवा अवरुद्ध भएकोले थप उपचार गर्न नपाउँदा बालकको साउन २६ गते मृत्यु भएको हो ।त्यसैगरि साउन १८ गते जिल्ला अस्पतालमा भर्ना भएका सिमकोट गाउँपालिका– ७ ग्वालेखोरकी लालकला शाहीका ६ महिनाका छोरा रोहितको पनि साउन २४ गते मृत्यु भएको थियो । रोहितलाई पनि अस्पतालले जिल्लाबाहिर रिफर गरेको थियो ।
त्यस्तै, अस्पतालले उपचारका लागि जिल्लाबाहिर रिफर गरेका खार्पुनाथ गाउँपालिका–१ का १७ महिनाका आर्यन परियारको साउन ७ गते मृत्यु भएको थियो भने चंखेली गाउँपालिका– ४ का पाँच वर्षका बालक सन्देश लुवारको पनि उपचार अभावमा मृत्यु भएको थियो ।
१५ दिनपछि सुत्केरी महिलाको उद्धार
राष्ट्र्यि सडक सञ्जालले नछोएको हिमाली जिल्ला हुम्लामा १५ दिनपछि एक जना सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । साउन १६ गते जिल्ला अस्पतालमा भर्ना गरि सुत्केरी भए पनि रक्तअलपताबाट ग्रसित खार्पुनाथ गाउँपालिका वडा नम्वर ५ स्थित खार्पेल गाउँकी ४० वर्षीया दिपकली सार्कीको हेलिकप्टर मार्फत जिल्ला बाहिर उद्धार गरिएको हो ।
सुत्केरी व्यथा लागेर जिल्ला अस्पताल पुगाएर सहजै रुपमा सुत्केरी गराएकी सार्की उच्च रक्तअलपताका कारण जिल्ला अस्पतालले साउन २६ गते जिल्ला बाहिर सुविधा सम्पन्न हस्पिटलमा रिफर गरेको थियो । तर पछिल्ला दुई हप्तादेखि यता हुम्लामा नियमित हवाई उडान नभएका कारण जिल्ला अस्पतालले रिफर गरिएका विरामी मर्कामा पर्दै आएका छन् ।
अस्पतालले रिफर गरेको पाँच दिन वितिसक्दा पनि जिल्लामा हवाई उडान नभएकै कारण सुत्केरी महिलाको ज्यान उच्च जोखिममा परेको गुनासो आएको हो । जिल्ला अस्पताल र जिल्ला प्रशासन कार्यालय हुम्लाको पहलमा शरीरमा रगतको कमी भइ कमजोर भएकी सार्कीको मंगलबार आज थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पुगाएको अस्पतालका निमित्त कार्यालय प्रमुख सरिता बोहराले बताउनु भएको छ ।
सार्कीलाई मंगलबार दिउसो साढे १ वजे नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरेर सुर्खेत लगिएको निमित्त प्रमुख बोहराले बताउनु भयो । जिल्लामा यो समय नियमित हवाई सन्चालन नहुँदा विरामीहरुको ज्यान उच्च जोखिममा रहेको अस्पतालको स्रोतले जनाएको छ ।