बाढीले पुरिएको मुस्ताङको कागबेनीको बस्ती खोतल्न सुरु गरिएको छ । प्रहरी र सेना सहित एक सय बढी स्थानीय खोज तथा उद्धारकर्ताहरूले लेदो र गेग्र्यानको बाढीले पुरिएको धार्मिक तथा पर्यटकीय बस्ती कागबेनी खोतल्ने क्रम अघि बढाएका हुन । सुरक्षाकर्मीको टोलीले क्षतिग्रस्त घर, भवन, होटलमा जमेको गेग्य्रान हटाउने, भत्केका होटल तथा घरबाट बहुमूल्य सामग्रीसहित सामानहरू उत्खनन गर्ने काम गरिरहेको छ ।

त्यस्तै बाढीले पुरै पुरेका घर, संरचनाको पहिचान गर्ने र संरक्षण गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । कागबेनीमाथि थुप्रिएको लेदोसहितको गेग्य्रान हटाउन कम्तीमा एक महिना लाग्न सक्ने अनुमान छ । आइतबार साँझ बारागुङ मुक्तिक्षेत्र गाउँपालिका– ४ मा पर्ने कागबेनी बस्ती स्थानीय ठाडो कागखोलामा आएको बाढीले पुर्दा होटल, रेस्टुरेन्टसहित निजी तथा सामुदायिक गरी २९ वटा भवनमा पूर्ण रूपमा क्षति पुगेको छ ।

१३ घरमा आंशिक क्षति पुगेको छ । कागबेनी खोलामाथि निर्मित पक्की मोटर पुल, एउटा एक्स्काभेटर, ९ वटा मोटरसाइकल र २ वटा जिप, एउटा झोलुंगे पुल र ३ वटा काठेपुल पनि बाढीले बगाएको छ । बाढीवाट विस्थापित भएका कम्तीमा एक सय जनालाई खाद्यान्न र आवासको व्यवस्थापन प्रशासनले मिलाएको छ । विस्थापित करिब एक सय ५० जनाले छिमेकी र आफन्तको घरमा आश्रय लिएर बसेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय