

वीरेन्द्रनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले सहिदहरुले देखाएको सत्य र न्यायको मार्गमा हिड्न आग्रह गर्नुभएको छ । वीरेन्द्रनगरको सुर्खेतमा आयोजित कर्णाली प्रदेश स्थापना तथा सहिद दिवस कार्यक्रममा प्रधानमन्त्री दाहालले कर्णाली प्रदेशको स्थापनामा कर्णालीबासीको ठूलो संघर्ष, त्याग र बलिदान रहेको स्मरण गर्नुभयो ।
कार्यक्रममा प्रधानमन्त्री दाहालले लोकतन्त्रबाट सिर्जित अवसर तथा लाभहरुलाई तल्लो वर्गसम्म पुर्याउन तथा जनआकांक्षाको चित्त बुझ्दो सम्बोधन र संघीय भावनात्मक सम्बन्धका मान्यताहरु स्थापित गर्न संघ, प्रदेश र स्थानीय तहलाई थप जिम्मेवार बन्न पनि आग्रह गर्नुभयो । उहाँले बेरोजगारीको अन्त्य गरी गरिबी निवारण तथा आर्थिक रुपान्तरणका लागि कर्णाली प्रदेश सरकारको समृद्धि अभियानलाई संघीय सरकारको पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।






प्रधानमन्त्री दाहालले कर्णाली प्रदेशको मेरुदण्डको रुपमा रहेको टेरिटोरियल तथा कोरिडोर विकास अवधारणा, कर्णाली करिडोर, कर्णाली राजमार्ग, भेरी करिडोर, राप्ती लोकमार्ग, थारमारे चौरजहारी जुम्ला सहिद कामी बुढा मार्ग, कैलाश मानसरोबर दर्शन क्षेत्र हुँदै मुक्तिनाथ जोड्ने सडक योजना जस्ता रणनीतिक महत्वका योजना पूरा गर्न संघीय सरकारको तर्फबाट पूर्णरुपमा पहल गर्ने आश्वासन समेत दिनुभयो ।
८ वर्षअघि दुई साता लामो आन्दोलनमा चार जनाको शहादतपश्चात २०७२ साल भदौ ४ गते कर्णाली प्रदेशको स्थापना भएको थियो ।