काठमाडौं । सुदूरपश्चिम र मध्यपश्चिममा उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाइँदै छ । यो पर्व चान्द्रमासअनुसार भदौ महिनामा मनाइने भएपनि यस वर्ष भाद्र शुक्ल अष्टमी अघि नै अगस्त्य ऋषिको उदय हुने भएकाले श्रावण शुक्ल अष्टमीमै मनाउन थालिएको हो ।

शुक्ल पक्षमा मनाइने गौरालाई उज्याली र कृष्ण पक्षमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । यसैले यस वर्षको गौरालाई उज्याली भनिन्छ । पहिलो पटक व्रत बस्नेले भने शुक्ल पक्ष अर्थात् उज्याली गौराबाटै सुरु गर्नुपर्ने हुन्छ ।

सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिमी क्षेत्रमा यो पर्व मनाउन थालिएको हो । गौरा पर्वमा दुवोको समेत पूजा गरिने भएकाले यो अष्टमीलाई दुर्वाष्टमी पनि भनिन्छ । काठमाडौंको टुँडिखेललगायत विभिन्न स्थानमा सुदूरपश्चिमवासीले देउडा गीत गाएर रमाइलो गर्दैछन् । राजधानीमा सुदूर र मध्यपश्चिमवासीको उपस्थिति बढेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको छ । पर्वको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायतले शुभकामना दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय