

प्रधानमन्त्री पुष्पकमल दाहालले बर्खा सिद्धिएपछि लाखौं जनतालाई सडकमा उतार्ने बताएका छन् । बिहीबार सुर्खेतमा आयोजित समाजवादी मोर्चाको कार्यक्रममा प्रधानमन्त्री दाहालले राष्ट्रियता, जनजीविका, सामाजिक न्याय र भ्रष्टाचारको विपक्षमा जनतालाई उतारेर जगैदेखि हल्लाइदिने घोषणा गरेका हुन् । उनले सरकार कति समय चल्छ भन्ने चिन्ता आफूलाई नभएको र सरकार जोगाउन जे पनि नगर्ने बताए ।
प्रधानमन्त्री दाहालले पछिल्लो भ्रष्टाचार विरुद्धको कारबाहीमा कांग्रेस, एमालेलाई लक्षित गरेको र माओवादीलाई जोगाएको भन्ने आरोपमा सत्यता नरहेको पनि दाबी गरे । उनले नेकपा (एमाले) का नेता र कार्यकर्तामा चरम असन्तुष्टि रहेकाले विभाजन हुन सक्ने टिप्पणी समेत गरे । कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले दाहाल नेतृत्वको सरकारले राम्रो काम गरिरहेकाले कुनै पनि शक्तिले ढाल्न नसक्ने दाबी गरे ।







त्यसैगरी, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्दले भ्रष्टाचार र मानव बेचबिखनविरुद्ध प्रधानमन्त्री दाहालले लड्नुपर्ने बताए । उनले प्रधानमन्त्रीको कुर्सीबाट दाहालले भ्रष्टाचारविरुद्ध लडेमा आफूहरुले सडकबाट साथ दिने प्रतिवद्धता जनाए ।महासचिव चन्दले भ्रष्टाचारविरुद्ध लागेकाले राज्यका विभिन्न शक्तिले प्रधानमन्त्रीविरुद्ध घेराबन्दी गरिरहेको पनि आरोप लगाए । वैदेशिक अनुदानको नाममा हुने हस्तक्षेप स्वीकार्य नहुने उनको भनाइ छ ।