काठमाडौं । वर्षौंदेखि समाधानको प्रतीक्षामा रहेको चन्द्रागिरि नगरपालिका–१२ को विवादित जग्गा समाधानको प्रक्रियातर्फ अघि बढेको छ । स्थानीयवासीको निरन्तर गुनासो, पीडित पक्षको न्यायको खोजी र OURNEWSCREW ले सार्वजनिक चासोको विषयमा उठाएको प्रश्नपछि स्थानीय सरकार सक्रिय भएको छ ।

चन्द्रागिरि नगरपालिका–१२ का वडा अध्यक्ष न्हुच्छे महर्जनको पहलमा सावित्री श्रेष्ठ र कीर्तिपुर नगरपालिका–१० निवासी अमृता महर्जनलाई वडा कार्यालयमा छलफलका लागि बोलाइएको छ । साविक बलम्बु गाविस वडा नं. ५(क) अन्तर्गत अमृता महर्जनको नाममा रहेको कित्ता नं. १०५९ र सावित्री श्रेष्ठको नाममा रहेको कित्ता नं. १०१७ बीच लामो समयदेखि कायम रहेको जग्गा विवाद समाधानका लागि २०८३ साउन १ गते छलफलका लागि बोलाएको हो ।

वडा कार्यालयमा भएको छलफलमा वडा अध्यक्ष महर्जनले यही साउन महिनाभित्र प्राविधिक रूपमा जग्गा नापजाँच गराई विवादको यथार्थ अवस्था पहिचान गरी टुंगोमा पुर्याइने दाबी गरेका छन् । छलफलमा जनप्रतिनिधि, दुवै पक्षका जग्गाधनी, सँधियार, स्थानीय बुद्धिजीवी तथा OURNEWS कर्मीको सहभागिता रहेको थियो ।

यसअघि OURNEWSCREW ले चन्द्रागिरिका जनताले पाएनन् स्थानीय सरकारको साथ, भू–माफियाको रजगजले सम्पत्ति नै गायब ! भन्ने शीर्षकमा समाचार प्रशारण गरेको थियो । त्यसपछि विवादित विषयमा स्थानीय सरकार (वडा) को चासो बढेको हो । वडा कार्यालयको पहलमा अहिले विवाद समाधानको औपचारिक प्रक्रिया अघि बढ्नुले पीडित पक्षले न्याय पाउने अपेक्षा बढेको देखिन्छ । वडा अध्यक्ष महर्जनले कित्ता नं. १०१७ र १०५९ को प्राविधिक नापजाँचपछि वास्तविक सीमाना स्पष्ट हुने र त्यसकै आधारमा समस्या समाधानको मार्ग खुल्ने र विवाद समाधान गरिने बताउनुभएको छ । वडा अध्यक्ष स्वयम् आफैले जिम्मेवारी लिएर विवाद समाधान गर्ने भनेपछि दुवै पक्षसँगसँगै सँधियार पनि न्याय पाउनेमा आशावादी भएका छन् ।

वर्षौंदेखि अल्झिएको यो विवाद अब समाधानको चरणमा प्रवेश गर्नु केवल दुई पक्षबीचको सहमतिको विषय मात्र नभई स्थानीय सरकारको उत्तरदायित्व, नियमन क्षमता र सार्वजनिक जवाफदेहिताको पनि महत्वपूर्ण परीक्षा बनेको छ । आगामी नापजाँच र त्यसपछिको निर्णयले पीडित पक्षलाई न्याय दिलाउनुका साथै यस्ता प्रकृतिका अन्य विवाद समाधानका लागि पनि एउटा नजिर स्थापित गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय