काठमाडौं । गत असोज १८ गतेको भीषण वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्डमा ठूलो पहिरो खसेपछि आवतजावत पूर्ण रूपमा रोकिएको छ । सडक डिभिजन इलाम, स्थानीय बासिन्दा र सुरक्षाकर्मीले एक सातादेखि लगातार सडक खुलाउन प्रयास गरे पनि हालसम्म सफल भएका छैनन् ।
राजमार्गको राजदुवाली र इलाम–नेपालटार खण्डको मिलगोलाईमा ठूलो क्षति पुगेको छ । मिलगोलाईको अवरोध हटाइसकिएको सडक डिभिजनले जनाएको छ । इलामसहित पाँचथर र ताप्लेजुङबाट झापा जाने सवारीसाधन राजदुवाली पहिरोमाथि र झापाबाट इलाम, पाँचथर र ताप्लेजुङ जाने सवारीसाधन माईखोलामा रोकिएका छन् । सो ठाउँदेखि पहिरोमाथिसम्म करिब डेढ किलोमिटर यात्रुहरूलाई पैदल नै आवतजावत गर्नुपर्ने बाध्यता छ । बिरामी र ज्येष्ठ नागरिकलाई भने स्टेचरमा बोकेर माईखोला पारिबाट राजदुवाली माथिसम्म र राजदुवाली माथिबाट माईखोला पारिसम्म पुर्याउन सुरक्षाकर्मीले सहयोग गरिरहेका छन् । बाढीपहिरोका कारण जिल्लाका अधिकाशं स्थानीय पालिका सदरमुकामसँगको सडक सञ्जालबाट विच्छेद भएका छन् ।



इलाममा हालैको सानाठूला गरी १९ पक्की पुल, दुई बेलीब्रिज, ११ कल्भर्ट र तीन झोलुङ्गे पुलमा क्षति पुगेको छ भने ३१ सडकमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बाढीपहिरोबाट इलामा ३९ जनाको ज्यान गएको छ भने २६ जना घाइते भएको र एक जना बेपत्ता छन् । घटनाबाट दुई सय ७६ परिवार विस्थापित, एक सय ५१ घर पूर्ण र तीन सय २७ घर आंशिक क्षतिग्रस्त भएको तथ्यांक छ ।



