चर्चामा रहने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अन्तत वडा अध्यक्षहरूको राजीनामा माग गरेको विषयमा माफी मागेका छन् । साम्पाङले वडा अध्यक्षहरूले राखेको ५ बुँदे माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि ६१ दिन पछि धरान कार्यपालिका बैठक भने सुरू भएको छ ।
उनले आफ्ना स्वकीय सचिव सन्दीप लिम्बूले वडाध्यक्षलाई निर्देशनसहित पठाएको पत्र पनि फिर्ता गरेको जानकारी गराएकाछन्। स्वकीय सचिवले पत्र पठाएको विषयमा कार्यपालिका बैठकमा प्रश्न गर्ने धरान १० का वडा अध्यक्ष विवेक राईलाई सोधिएको स्पष्टीकरणसमेत साम्पाङले फिर्ता लिएका छन् ।प्रदेश र संघीय सरकारको बजेट कार्यान्वयन गर्ने कुरामा उपमहानगरपालिकालाई जानकारी दिएर कार्यान्वयन गर्ने सहमति जनाएका छन् ।



स्वकीय सचिव लिम्बूले भौतिक निर्माणको प्रगतिसहितको विवरण पठाउन वडाध्यक्षलाई पत्र पठाएपछि वडाध्यक्ष र मेयरबीच पछिल्लो समय विवाद सुरू भएको थियो । वडाध्यक्षहरूले कालोपट्टी बाँधेर मेयरको कार्यशैलीको विरोध गर्दै आएका थिए ।विवाद बढ्दै जाँदा मेयर र वडाध्यक्षका बीचमा धरान १७ का वडाध्यक्ष सूर्यकुमार भट्टराई ९मनोज० माथि साम्पाङ सर्मथकहरूले हातपात गर्दै कालोमोसो दल्न खोजेर दुर्व्यवहार गरेका थिए ।
घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा समेत चलाएको छ । विवाद बढ्दै गएपछि राजनीतिक दलहरूले कार्यशैली सच्याउन ध्यानाकर्षणसमेत गराएका थिए । एकसाता अघि उपमेयर आइन्द्रविक्रम बेघाले वडाध्यक्षको जायज माग पूरा गर्नुपर्ने धारणा राखेका थिए ।



