फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्न माग गर्दै उभिएर धर्नामा रहेका अभियन्ता ‘ईः’ र काठमाडौँ महानगरपालिकाबीच चार बुँदे सहमति भएको छ । उनीहरुबीच बुधबार बेलुका चार बुँदे सहमति भएको हो । सहमतिसँगै ईःले आन्दोलनका कार्यक्रमहरु स्थगित भएको घोषणा गरेको छ ।
साविकमा फूटपाथ, सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरुका लागि महानगरपालिकाभित्र कानुनले निषेध गरेका स्थान बाहेक अन्यत्रका उपयुक्त स्थल पहिचान गर्न महानगरपालिकाले एक साता भित्र पहल गर्ने सहमतिमा उल्लेख छ । यसअघि आन्दोलन गरिरहेका ई को नाममा खुला पत्र सार्वजनिक गर्दै काठमाडौँ महानगर प्रमुख बालेन्द्र साहले ईः को आन्दोलनमा साथ दिने नेताहरूले राजनीतिक बेइमानी गरेको आरोप समेत लगाएका थिए ।






