काठमाडौं । फिफा विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा आज राति साविक विजेता अर्जेन्टिना र इजिप्ट खेल्दैछन् । खेल राति पौने १० बजे अमेरिकाको एटलान्टा रंगशालामा हुनेछ ।
नकआउट चरणमा अर्जेन्टिनाले केब भर्डेलाई ३–२ र इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी शुटआउटमा ४–२ ले हराउँदै अन्तिम १६ मा पुगेका हुन् । अर्जेन्टिना समूह ‘जे’ को विजेता र इजिप्ट समूह ‘जी’ को उपविजेताका रूपमा नकआउटमा पुगेका हुन् ।



विश्वकपमा अर्जेन्टिना र इजिप्टबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । यसअघि सन् १९२८ मा भएको ओलम्पिक फुटबल र २००८ मा भएको मैत्रीपूर्ण खेल दुवै अर्जेन्टिनाले जितेको थियो ।
विश्वकप फुटबलको अन्तिम प्रि–क्वाटरफाइनलमा भोलि बिहान पौने २ बजे स्विट्जरल्यान्ड र कोलम्बिया खेल्दैछन् । यो खेल क्यानडाको बीसी प्लेस भ्यानकुभर रंगशालामा हुनेछ ।
नकआउटमा स्विट्जरल्यान्डले अल्जेरियालाई २–० र कोलम्बियाले घानालाई १–० ले हराउँदै अन्तिम १६ मा पुगेका हुन् ।



