राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि निर्माण व्यवसायीहरूको महत्त्वपूर्ण भूमिका हुने बताएका छन् । बुधवारबाट काठमाडौंमा शुरु भएको एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरुको अन्तर्राष्ट्रिय छाता संस्था इफाप्काको ४६ औँ सम्मेलनको उद्घाटनमा राष्ट्रपति पौडेलले हरेक मुलुकको आर्थिक विकासमा भौतिक पूर्वाधारको महत्त्वपूर्ण भूमिका हुने बताएका हुन् ।
उनले जलवायु परिवर्तनका कारण बढ्दै गइरहेको प्राकृतिक विपत्तिसँग जुध्नका लागि भौतिक पूर्वाधारको क्षेत्रमा काम गर्नेहरूले विशेष सतर्कता अपनाउन जरुरी रहेको बताए । उनले अहिलेको विश्वलाई हेर्ने हो भने पनि भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेख्य विकास गरेका मुलुकहरूले नै आर्थिक प्रगति गरेको बताउँदै भौतिक पूर्वाधारको विकाससँगै हामीले यससँग सम्बन्धित अन्य पक्षहरूलाई पनि विशेष ध्यान दिनुपर्ने समय आएको बताए ।



उनले हालै नेपालको भ्रमण गरेको संयुक्त राष्ट्र संघका महासचिवले पनि जलवायु परिवर्तनको एजेन्डालाई उच्च महत्त्व दिएको प्रसङ्ग स्मरण गराउँदै कार्वन उत्सर्जनमा कटौती गरी प्रकृति सुहाउँदा पूर्वाधार निर्माणमा जुट्न सबैलाई आग्रह गरे । उनले विश्व प्रविधिमैत्री भइसकेको अवस्थामा भौतिक पूर्वाधारको क्षेत्रले पनि प्रविधिमैत्री अभ्यासलाई अझ बृहत् बनाउनुपर्ने उल्लेख गरे ।



