काठमाडौं । नेदरल्यान्ड्समा जारी आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिदेशीय श्रृंखलामा आज नेपालले घरेलु टोली नेदरल्यान्ड्सको सामना गर्दैछ ।
नेपाल र नेदरल्यान्ड्सबीचको खेल आज दिउँसो पौने ३ बजेदेखि शुरु हुने भएको हो । नेपाल यो श्रृंखलाको पहिलो खेलमा नामिबियासँग ८ विकेटले पराजित भएको थियो । नेपालले यस श्रृंखलाको तेस्रो खेल साउन ११ गते पुनः नामिबियासँग र साउन १३ गते नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ । लिग–टू अंकतालिकामा नेपाल र नामिबिया दुवैको २९ खेलबाट समान २४ अंक पुगेको छ । राम्रो नेट रनरेटका आधारमा नेपाल पाँचौँ र नामिबिया छैठौं स्थानमा रहेका हुन् । नेदरल्यान्ड्स ३२ अंकसहित तेस्रो स्थानमा छ ।



अंकतालिकाको शीर्ष स्थानमा अमेरिका, दोस्रोमा स्कटल्यान्ड र चौथोमा ओमान रहेका छन् । विश्वकप ग्लोबल क्वालिफायरमा स्वतः स्थान बनाउन शीर्ष चारभित्र रहनुपर्ने भएकाले नेपालका लागि बाँकी खेलहरू निकै महत्वपूर्ण छन् । विश्वकप लिग–टू मा प्रत्येक टोलीले ३६ खेल खेल्ने भएका छन् । नेपालको अझै ७ खेल बाँकी रहेकाले शीर्ष चारमा पुग्न जित्नैपर्ने दबाब रहेको हो ।



