काठमाडौं । आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस हो । विश्व माटो दिवस पनि आजै परेको छ । यी दुवै दिवस संयुक्त राष्ट्रसङ्घको आह्वान प्रायः सबै यसका सदस्य राष्ट्रमा हरेक वर्ष मनाइन्छ ।
स्वयंसेवकहरूको योगदानलाई सम्मान गर्ने र स्वयंसेवाको भावना तथा सेवा संस्कृतिलाई स्थानीयदेखि राष्ट्रिय र अन्तरराष्ट्रिय तहसम्म प्रवद्र्धन गर्ने उद्देश्यका साथ यो दिवस सन् १९८५ देखि मनाउन प्रारम्भ भएको हो । राष्ट्रसंघीय महासभाले सोही वर्ष डिसेम्बर ५ मा अन्तरराष्ट्रिय दिवसका रूपमा सदस्य देशमा यो दिवस मनाउने घोषणा गरेको हो ।

यसै अवसरमा एक सन्देश जारी गर्दै महासचिव एन्टोनियो गुटरेसले प्राकृतिक विपद्, द्वन्द्वग्रस्त समुदायलाई सहयोग, गरिबी निवारणमा काम गर्नेलगायत चुनौती सामना गर्दै आफ्नो समय, ऊर्जा र सीप स्वेच्छिक रूपमा समर्पण गर्ने स्वयंसेवकहरूको त्याग, साहस र मानवता वर्तमान विश्वका लागि प्रेरणाको स्रोत बनेको सन्देशमा उल्लेख गरेका छन् ।

माटो दिवस

स्वस्थ माटोको महत्वप्रति ध्यानाकर्षण गराउने र माटोको दिगो व्यवस्थापनका लागि जनचेतना बढाउने उद्देश्यसहित हरेक वर्ष डिसेम्बर ५ मा यो दिवस मनाइने गरिएको छ । विश्वभर माटो संरक्षण, दिगो कृषि व्यवस्था तथा जलवायु परिवर्तनको प्रभाव कम गर्न आवश्यक उपायहरूबारे बहस र अभियान यो दिवसमा सञ्चालन हुने गरेका छन् ।

कृषि उत्पादन, वातावरणीय सन्तुलन र समग्र मानव अस्तित्वमा माटोको भूमिका महत्वपूर्ण भएकाले माटो संरक्षण र दिगोपनलाई प्राथमिकतामा राख्न यो दिवसले विश्व समुदायलाई स्मरण गराउने उक्त विश्व संस्थाले जनाएको छ । सन् २०१३ जुनमा राष्ट्रसंघले विश्व माटो दिवस मनाउने घोषणा गरेको हो । कृषक, सरकार, वैज्ञानिक समुदाय र आम नागरिकलाई माटोको संरक्षणतर्फ सचेत र सक्रिय बनाउने यो दिवसको लक्ष्य हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय