काठमाडौं । आज श्रावण शुक्ल पूर्णिमा, जनैपूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदैछ ।पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गर्छन् ।
पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि चन्द्रगिरिको मातातीर्थ,त्रिबेणी घाट,विष्णुदेबि मन्दिर , महादेबस्थान लगायत काठमाडौंको पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोक विनायकलगायत वाग्मती नदी किनार र मठ मन्दिरमा भक्तजनको चहलपहल छ ।



रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गंगासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायत स्थानमा पनि बिहानैदेखि मेला लागेको छ । नेपालको तराई मधेशमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधिदिएर यो पर्व मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइ बीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । जनैपूर्णिमाका विभिन्न थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने चलन छ । क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो हटाई ताप सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।
तिथि घटबढका कारण आजै गाईजात्रा पर्व पनि परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
जनै पूर्णिमाको शुभकामना
https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470



