भोटेकोशी नदीमा ईभी गाडी खसेर भएको दुर्घटनापछि पीडित परिवार र स्थानीयवासीले विभिन्न माग राख्दै पासाङ ल्हामु राजमार्ग अवरुद्ध गरेका छन्। रसुवाको कालिका गाउँपालिका–३ स्थित धारापानी क्षेत्रमा स्थानीयले सडक अवरुद्ध गरेपछि जिल्लाको प्रमुख सडक मार्गमा यातायात सेवा प्रभावित भएको छ।
ईभी दुर्घटनाको उचित छानबिन, पीडित परिवारलाई न्याय तथा सडक सुरक्षाका विषयमा आवश्यक पहल गर्नुपर्ने माग राख्दै स्थानीयले राजमार्ग बन्द गरेका हुन्। सडक अवरुद्ध भएपछि रसुवाबाट आवतजावत गर्ने सवारीसाधन बीच बाटोमै रोकिएका छन्।



राजमार्ग बन्द हुँदा चीनको मानसरोवर यात्रामा जाने तीर्थयात्री बोकेका सवारीसाधनसमेत प्रभावित भएका छन्। त्यसैगरी दर्जनौँ मालवाहक ट्रक, यात्रुवाहक बस, जीप तथा अन्य साना–ठूला सवारीसाधन लामो समयदेखि रोकिएका छन्।
स्थानीयका अनुसार दुर्घटनापछि जोखिमयुक्त सडक क्षेत्रमा सुरक्षाका उपाय अपनाउन र भविष्यमा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायले ठोस कदम चाल्नुपर्ने माग राखिएको छ।
प्रशासनले स्थानीयसँग छलफल गरी सडक खुलाउने प्रयास गरिरहेको जनाएको छ। तर माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने स्थानीय पक्षले बताएका छन्। सडक अवरुद्ध हुँदा स्थानीय जनजीवनसँगै व्यापारिक सामग्री ढुवानी र यात्रु आवागमनमा समेत प्रत्यक्ष असर परेको छ।



