काठमाडौं । नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्गका रूपमा निर्माण सम्पन्न भएको नागढुंगा सुरुङमार्ग सोमबारदेखि सीमित रूपमा संचालनमा आउने तयारी भइरहेका बेला यसको उद्घाटनभन्दा बढी चर्चा शिलान्यासका क्रममा राखिएको शिलालेखलाई लिएर सुरु भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यासका अवसरमा अनावरण गरेको शिलालेख आयोजनास्थलमा नदेखिएपछि यसको कारणबारे विभिन्न अड्कलबाजी भइरहेका छन् ।
२०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री ओलीले नागढुंगा सुरुङमार्गको शिलान्यास गर्नुभएको थियो ।त्यसबेला स्थापना गरिएको शिलालेख अहिले आयोजनास्थलमा नभेटिएपछि उद्घाटनअघि नै यसको विषय सार्वजनिक बहसको केन्द्र बनेको छ । सामाजिक संजालदेखि राजनीतिक वृत्तसम्म शिलालेख जानाजान हटाइएको हुन सक्ने टिप्पणी भइरहेका छन् ।



आयोजनाका उपनिर्देशक सञ्जय पन्थीले सुरुङ निर्माणको काम अघि बढ्दै जाँदा शिलालेखले निर्माणमा अवरोध पुर्याउने भएकाले अन्य संरचनाजस्तै त्यसलाई पनि हटाएर सडक विभागमा राखिएको जानकारी दिनुभयो । उहाँले विभागमा भएको आगलागीपछि उक्त शिलालेख फेला नपरेको जानकारी दिनुभयो । उद्घाटनअघि पुनः आयोजनास्थलमा राख्ने उद्देश्यले खोजी गरिए पनि भेटाउन नसकिएको उहाँले बताउनु भयो ।
उहाँले शिलालेख हटाउन कुनै राजनीतिक निर्देशन वा माथिल्लो निकायको दबाब नभएको स्पष्ट पार्दै शिलालेख फेला परेपछि पुनः आयोजना परिसरमै स्थापना गरिने बताउनु भयो । यद्यपि उद्घाटनको पूर्वसन्ध्यामा शिलालेख गायब भएको विषयले आयोजनाको व्यवस्थापन र अभिलेख संरक्षणबारे प्रश्न भने उठाएको छ ।
लामो समयदेखि प्रतीक्षामा रहेको नागढुंगा सुरुङमार्ग अब भने संचालनको चरणमा पुगेको छ । प्रारम्भिक चरणमा एम्बुलेन्स, दमकल, नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायका आपतकालीन सवारीसाधनलाई मात्रै सुरुङ प्रयोग गर्न दिइनेछ । त्यसपछि अवस्था मूल्याङ्कन गर्दै अन्य सवारीलाई पनि चरणबद्ध रूपमा प्रवेश खुला गरिने आयोजना कार्यालयले जनाएको छ ।
मोटरसाइकल, तीनपांग्रे, पैदलयात्री तथा पेट्रोल, डिजेल, एलपी ग्यासजस्ता अत्यधिक प्रज्वलनशील पदार्थ बोकेका सवारीसाधनलाई भने सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइने छैन । संचालनको सुरुवाती करिब १५ दिन सेवा निःशुल्क हुनेछ भने त्यसपछि सरकारले निर्धारण गरेको शुल्क लागू गरिनेछ ।
धादिङको सिस्नेखोला र काठमाडौंको बलम्बुलाई जोड्ने यो सुरुङमार्ग संचालनमा आएपछि हालको करिब आठ किलोमिटर सडक दूरी पाँच किलोमिटरमा सीमित हुनेछ । यसले करिब २.८ किलोमिटर दूरी छोट्याउनुका साथै नागढुंगा क्षेत्रमा दैनिक हुने सवारी जाम कम गर्ने, यात्रा समय घटाउने र इन्धनको खपतमा उल्लेखनीय बचत गर्ने अपेक्षा गरिएको छ । आयोजनाले सुरुङमार्ग प्रयोग गर्दा काठमाडौंतर्फ आउँदा करिब ३३ मिनेट र बाहिरिँदा २३ मिनेटसम्म समय बच्नेछ ।
मुख्य सुरुङसँगै निर्माण गरिएको उद्धार (रेस्क्यु) सुरुङ, आधुनिक भेन्टिलेसन प्रणाली, जेट फ्यान तथा सात वटा क्रस–पासेजले यसलाई सुरक्षित र आधुनिक पूर्वाधारका रूपमा स्थापित गरेका छन् । जापानको सहुलियत ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भएको यो आयोजना नेपालको पूर्वाधार विकासमा नयाँ अध्यायका रूपमा हेरिएको छ । तर उद्घाटनको खुसीसँगै शिलान्यासको इतिहास बोकेको शिलालेख रहस्यमय रूपमा हराएको विषयले भने यो आयोजनामाथि अर्को बहस पनि जन्माएको छ ।



