काठमाडौं । काठमाडौं उपत्यका मेयर्स फोरमले उपत्यकाका सबै नगरपालिकामा ४० माइक्रोन भन्दा कमका प्लाष्टिकको झोला प्रयोगमा पूर्ण रुपले प्रतिबन्ध लगाउने निर्णय गरेको छ । ललितपुर महानगरका नगरपालिकाका प्रमुख तथा मेयर्स फोरमका अध्यक्ष चिरीबाबु महर्जनको अध्यक्षतामा भक्तपुरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।




फोरमका महासचिब तथा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले बैठकमा उपत्यकाको फोहोरमैला ब्यबस्थापनको समस्याको सम्बन्धमा केन्द्रित रहेको पनि जानकारी दिनुभयो । महासचिब गिरीले बैठकले उपत्यकाका सबै नगरपालिकामा ४० माइक्रोन भन्दा कमका प्लाष्टिकको झोला प्रयोगमा पूर्ण रुपले प्रतिबन्ध लगाउने निर्णय गरेको जानकारी गराउनु भएको हो । बैठकले फोहोरमैला ब्यबस्थापनको सम्बन्धमा हाल देखा परेको समस्याको दीर्घकालीन समाधानका लागि सबै पालिकाको तर्फबाट कुहिने र नकुहिने फोहोर घरमै वर्गीकरण गरि सम्भव भएसम्म स्थानीय स्तरमै कुहिने फोहोरबाट कम्पोष्ट मल निर्माण गर्ने वातावरण बनाउने निर्णय गरेको पनि महासचिव गिरीले जानकारी दिनुभयो ।

बैठकले कुहिने र नकुहिने फोहोर संकलन गर्न सातामा निश्चित बार तोकि संकलन र ब्यबस्थापन गरिने निर्णय समेत गरेको छ । सूर्यविनायक नगरपालिकाको व्यवस्थापनमा बसेको बैठकमा काठमाडौं उपत्यकाका विभिन्न महानगर तथा नगरपालिकाका प्रमुख तथा उप प्रमुखहरुको उपस्थिति रहेको थियो ।






