अहिले दक्षिण पूर्वी एसियाली मुलुकमा एउटा विषयले तरंगित हुन पुगेको छ । भारतले आफ्नो नयाँ संसद भवनमा अखण्ड भारतको नक्सा राखेसँगै नेपाल, पाकिस्तान, बंगलादेशलगायत मुलुकले त्यसको विरोध गरिरहेका छन् । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणका क्रममा उक्त अखण्ड भारतको विषयमा एक शब्द पनि नबोलेपछि नेपालको संसदमा त्यसको चर्को आलोचना हुन पुग्यो । संसदमा प्रतिपक्षले चर्को आवाजमा उक्त विषयमाथि निशाना साँधिरहँदा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले भने बृहत्तर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राखेपछि नेपालमा मात्र नभई भारतमा समेत तरंग उत्पन्न हुन पुग्यो । त्यही बृहत्तर नेपालका सूत्राधारका रुपमा परिचित तत्कालिन गोरखा दरबारका राजा पृथ्वीनारायण शाह जसले छरिएर रहेका बाइसे चौविसे राज्यलाई एक सूत्रमा बाँधी आधुनिक नेपालको एकीकरण गरे । तर, उनको योगदानलाई भने राष्ट्रले विर्सिएको छ ।



नुवाकोट जिल्लाको विदूर नगरपालिका देवीघाटको । तादी र त्रिशूली नदीको दोभान क्षेत्र यस देवीघाट आफैंमा पनि महत्वपूर्ण स्थान हो । बाइसे चौविसे राज्यलाई एक ढिक्का बनाउने पृथ्वीनारायण शाहले देशलाई एकतामा बाँध्दा जति मेहनत र चुनौतीहरु सामना गरे तर अहिले उनको त्यो योगदानको न राष्ट्र, न सरकार, न अहिलेका जनप्रतिनिधिलाई नै चासो छ । यस्तै उपेक्षाको एउटा ज्वलन्त उदाहरण हो । नुवाकोटको देवीघाटस्थित राजा पृथ्वीनारायण शाहको समाधीस्थल ।

छिमेकी राष्ट्र भारतकै कुरा गर्ने हो भने स्वतन्त्र भारत आन्दोलनका अगुवा महात्मा गान्धीको योगदानको विश्वभर चर्चा छ । देशमा उनलाई पिताको रुपमा लिइन्छ । देहबसानपछि गान्धीलाई समाधीष्ठ गरिएको राजघाट भन्ने स्थान आज भारतको एक महत्वपूर्ण स्थान बनाइएको छ । तर, नेपाल एकीकरणका पिता राजा पृथ्वीनारायण शाहको योगदान र सम्मान कहिँ कतै छैन ।

तादि र त्रिशूली नदीको संगम देबिघाटमा जालपा माईको मन्दिर पनि छ । यहाँ राजा पृथ्वीनारायण शाहको दाहसंस्कार गरिएको ढुंगा पनि छ । तर, उक्त स्थानको संरक्षण र सम्बद्र्धनमा कहि कसैले ध्यान पुग्न सकेको छैन । खोलाको किनारामै रहेको समाधीस्थलमा तीन चार वटा स्टिलका पाइपमा दुइ चारवटा सिक्री लगाएर घेरिएको छ । भारतका महात्मा गान्धीको समाधीस्थल र पृथ्वीनारायण शाहको समाधीस्थल तुलना गर्ने हो भने आकाश जमीनको फरक छ । गान्धीको समाधीस्थलमा अन्य मुलुकबाट हुने औपचारिक भ्रमणमा आगन्तुकलाई पहिले गान्धी समाधीस्थल पु¥याइन्छ अनि मात्र औपचारिक कार्यक्रमलाई अघि बढाइन्छ । तर, नेपाल एकीकरणका पिता पृथ्वीनारायण शाहको समाधीस्थल केबल तादी र त्रिशूली नदीको बालुवाले मात्र छोपिन्छ ।

पृथ्वी नारायण शाहले मृत्युबरण गरेको देबीघाट क्षेत्रमा अहिले नेपाली सेनाको गणले पार्क निर्माण गरेको छ । शाहको सालीक प्रतिस्थापन गरी उक्त स्थानलाइ कम्पाउण्ड गर्ने कार्य भएको छ । तर, समाधिष्ट गरिएको देवीघाटमा भने शाहको कुनै नामो निशाना नभएको भान हुन्छ । जुन सत्य पनि हो । उक्त स्थानको अबलोकन गर्ने या भनौ भ्रमण गर्ने जो कोहिले पनि त्यहाँको अबस्था हेर्दा स्थानीय जनप्रतिनिधि, प्रदेश सरकार र संघिय सरकारमाथी रुष्ठ हुने गरेका छन् ।

छिमेकी मुलुक भारतले महात्मा गान्धीको समाधीस्थललाई जसरी पवित्र र पर्यटकीय बनाएको छ नेपालले पनि राष्ट्रपिता पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गर्दै उनको नाममा रहेका यस्ता पवित्रस्थानलाई संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गर्न सके उक्त स्थानलाई पनि ऐतिहासिक पर्यटकीय स्थानको रुपमा रुपान्तरण गर्न सकिन्थ्यो कि ।




