एकसय रुपैयाँभन्दा बढी मूल्यको वस्तु भारतीय बजारबाट किनमेल गरेर नेपाल भित्राएमा भन्सार लाग्ने भएको छ ।नेपाल सरकारले यहि साउन १ गतेदेखि लागू हुनेगरी सो नियम लगाएको हो । मेची भन्सार कार्यालयले जारी गरेको सूचनामा ‘एक सयभन्दा बढी मूल्यको कुनैपनि सामान लिएर भारतको स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुहरुले आफ्नो साथमा ल्याएको मालसामानको यस मेची भन्सार कार्यालयको यात्रु शाखामा अनिवार्य घोषणा गरी जाँचपास गराएर मात्र लैजान सूचित गराइन्छ’ उल्लेख गरिएको छ ।

अन्यथा जाँचपास नगराई लगिएको मालसामान भन्सार परिसर भन्दा बाहिर पाइएमा भन्सार ऐन २०६४ बमोजिम चोरी पैठारी कसुरमा कारवाही हुने सूचनामा जनाइएको छ ।यसअघि सीमा क्षेत्रका भारतीय बजारमा गरिने किनमेलमा भन्सार अनिवार्य थिएन । यस्तो नियमले सीमा क्षेत्रका नेपाली बजारलाई राहत मिल्ने भन्सारको दावी छ ।भारतीय बजारबाट बिनाभन्सार सामान भित्र्याउँदा स्वदेशी बजार र राजश्व लक्ष्यसमेत घट्दै गएको अवस्थामा उद्योगी व्यवसायीकोसमेत माग पूरा गर्दै भन्सार नाकामा कडाइ थालिएको छ ।

सीमावर्ती बजारमा हुने अवैध कारोबारलाई निरुत्साहित गर्न पूर्वी नाका काँकरभिट्टामा १०० रूपैयाँभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार तिराउने भएको छ । शनिबार बसेको सर्वदलिय छलफलले नियमलाई अक्षरस् पालना गर्दै जाने निर्णय गरेको छ । शुक्रबार मेचीनगर नगरपालका र मेची उद्योग बाणिज्य संघको सहकार्यमा बसेको सर्वदलिय छलफलले १०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार तिराउने, बजार व्यवस्थापन र अनुगमन समिति बनाउने लगायतका तीन वटा निर्णय गरेको बताइएको छ ।

मेचीनगर नगरपालिकाकी उपमेयर मीना पोखरेल उप्रेतीको अध्यक्षता र मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईको सहजिकरणमा छलफल कार्यक्रम भएको थियो ।मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले केन्द्रको नीति अनुसार यो नियम लागू गरिने बताए । सरोकारवाला पक्षसँगको छलफलपछि यो नियम कडाईका साथ लागू गरिने उनको भनाई छ ।‘यो नियम अहिले मेची भन्सार कार्यालयमा लागू भएको छैन’, भन्सार प्रमुख रेग्मीले भने–‘अब यो नियम कडाईका साथ लागू गरिने छ ।’

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य गोपाल तामाङले सरकारको नीति, नियम र लेवलको कुरा राम्रो रहेको बताए । उनले यो नियम नाकाबाट सुरुवात गर्न आग्रह गरे ।‘खुल्ला सीमाना भएका कारण समस्या छ’, सांसद तामाङले भने–‘सीमालाई सुरक्षित र सहज बनाउनु पर्छ । चेकजाँचलाई व्यवस्थित गर्नुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय