काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सवा १२ बजेदेखि हुने उद्घाटन खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुनेछ ।

जनकपुरको मार्की खेलाडीका रूपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आसिफ शेख रहेका छन् । यस्तै टोलीको कप्तानमा भने राष्ट्रिय क्रिकेट टोलीका खेलाडी विकेटकिपर अनिल शाह रहेका छन् । उहाँहरुसँगै स्पीनर ललित राजवंशी रुपेश सिंह, किशोर महतो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापा मगर, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल र हेमन्त धामी छन् ।

जनकपुरले एनपीएलको उपाधि जित्ने लक्ष्यका साथ न्यूजिल्याण्डका चर्चित खेलाडीदेखि पाकिस्तान र अमेकिाका अनुभवी खेलाडीलाई भित्र्याएको छ । जनकपुर टोलीको मुख्य प्रशिक्षकमा भने राष्ट्रिय सिनियर क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायके छन् । दासानायकेले सुरुआतमा सन् २०११ देखि २०१५ सम्म नेपाल टिमको प्रशिक्षण सम्हालेका थिए ।

विराटनगर किङ्सको मार्की खेलाडी एवम् कप्तान सन्दीप लामिछाने छन् । लामिछानेसहित लोकेश बम, प्रतिश जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट र मुनाल गुरुङ छन्। विदेशी खेलाडीमा ओमानका अकिब इल्यास, न्यूजिल्यान्डका मार्टिन गप्टिल, क्यानडाका निकोलास किर्टन स्कटल्यान्डका क्रिस सोल र अफगानिस्तानका इस्मल आलम छन् ।

स्वदेशी तथा विश्व चर्चित खेलाडीको आगमनले एनपीएलले बजारमा निकै चर्चा पाएको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आगामी पुस ६ गतेसम्म सञ्चालन हुने पहिलो संस्करणको प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय