अमेरिकी प्रविधि कम्पनी एप्पलका प्रमुख टिम कुकले अचानक चीनको भ्रमण गरेका छन् । आफ्नो सबैभन्दा ठूलो बजारमा कम्पनीको फोनको बिक्रीमा कमी आएपछि उनको चीन भ्रमण गरेका हुन । विबो सामाजिक सञ्जाल प्लेटफर्ममा आफ्नो खातामा सोमबार राखिएको पोस्टमा कुकले छेङदुमा रहेको एप्पलको ताइकु लि स्टोरमा गएर अनलाइन ब्याटल एरेनाका युवा खेलाडीहरूलाई भेटेको बताएका हुन ।
चिनियाँ प्रविधि कम्पनी टेन्सेन्टद्वारा प्रकाशित अनलाइन ब्याटल एरेना विश्वको सबैभन्दा बढी खेलिने मोबाइल गेममध्येको एक हो । सन् १९९३ मा एप्पलले पहिलोपटक चीनमा आफ्नो उपस्थिति स्थापित गरेपछि चीनमा स्मार्टफोन, ल्यापटप र उपभोक्ता इलेक्ट्रोनिक्सका सामानहरूको प्रमुख प्रदायकका रूपमा विकास भएको छ ।



गत मार्चमा बेइजिङ भ्रमणका क्रममा एप्पलका सीईओ कुकले आफ्नो कम्पनीले चीनसँग ‘पारस्परिक’ सम्बन्ध कायम गरेको बताएको थिए । तर गत वर्ष चीनको शून्य कोरोना नीतिका कारण एप्पलका कारखानामा उत्पादनमा भएको कमीले बिक्रीमा प्रभावित हुँदा हालैका वर्षमा एप्पलले चीनमा संघर्ष गर्नुपरेको छ ।



