काठमाडौं, १४ चैत — नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको गिरफ्तारीलाई ‘गैरकानुनी’ भन्दै कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको छ। आज बिहान उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको आकस्मिक सचिवालय बैठकले यस्तो निर्णय गरेको हो। एमाले महासचिव शंकर पोखरेलले गिरफ्तारी प्रतिशोधपूर्ण र पूर्वाग्रहपूर्ण भएको भन्दै त्यसको भर्त्सना गरेका छन्। बैठकले अध्यक्ष ओलीको तत्काल रिहाइको माग पनि गरेको छ।
बैठकले निर्णयअनुसार प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनमार्फत विरोध प्रदर्शन गर्ने, भोलि चैत्र १५ गते प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाउने र कानुनी–राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने योजना समेत बनाएको छ।



उक्त गिरफ्तारी जेनजी आन्दोलनका घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयपछि गरिएको हो। ललितपुर च्यासलस्थित सचिवालय बैठक जारी रहँदा काठमाडौं चाबहिटी क्षेत्रमा एमाले कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका थिए



