नेकपा एमालेभित्र आन्तरिक असन्तुष्टि तीव्र बनेको छ। उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्दै लिखित रूपमा आफ्नो धारणा सचिवालय बैठकमा प्रस्तुत गरेका छन्। शुक्रबार गुण्डुस्थित ओली निवासमा बसेको सचिवालय बैठकमा दुबै नेताले अब पुरानै सोच र शैलीमा पार्टी सञ्चालन सम्भव नभएको भन्दै नयाँ नेतृत्व आवश्यक भएको मत दिएका हुन्।
पदाधिकारीका अनुसार ओलीले नेतृत्व छाड्नुपर्ने मागलाई ध्यानपूर्वक सुनेर प्रतिक्रिया नदिई बैठक अघि बढाएका थिए। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुरेन्द्र पाण्डे पनि ओलीले नेतृत्व हस्तान्तरण गर्नुपर्ने पक्षमा उभिएका छन्। शाक्य र ज्ञवालीले युवा पुस्ताको आन्दोलनको मर्म बुझ्दै नयाँ सोचसहित पार्टी पुनर्गठन गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले पार्टी नेतृत्वको कार्यकालमा देखिएको निराशा र संगठनमा फैलिएको असन्तुष्टिलाई सम्बोधन गर्न आवश्यक समीक्षा र पुनर्संरचना गर्नुपर्ने माग राखेका छन्।



महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले भने अहिले नेतृत्व परिवर्तनको सट्टा पार्टी एकता र लोकतान्त्रिक आन्दोलन जोगाउनेतर्फ ध्यान दिनुपर्ने धारणा राखेका छन्। बैठकमा शुक्रबारसम्म ८ जना पदाधिकारीहरूले आफ्ना विचार राखेका छन्। बाँकी पदाधिकारीले शनिबार धारणा राख्ने र त्यसपछि अध्यक्ष ओलीले जवाफ दिने कार्यसूची तय गरिएको छ। उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार शनिबार बस्ने बैठकमा नेतृत्व हस्तान्तरण र महाधिवेशन प्रस्तावबारे विस्तृत छलफल हुनेछ।



