विराटनगर — रातको करिब ११ बजेको थियो। धरानको भानुचोकबाट करिब पाँच किलोमिटर उत्तर कोशी राजमार्गको सडक किनारमा एउटा एम्बुलेन्स रोकिएको थियो। न बिरामी थिए, न चालक। सुनसान सडकमा बेवारिसे अवस्थामा रोकिएको एम्बुलेन्स देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे। इलाका प्रहरी कार्यालय धरानबाट पुगेको टोलीले एम्बुलेन्स जाँच गर्दा प्लास्टिकमा प्याक गरेर राखिएको ४४९ किलो गाँजा बरामद गर्‍यो। घटना गत वैशाख २९ गतेको हो।

बिरामीलाई समयमै अस्पताल पुर्‍याएर जीवन बचाउनुपर्ने एम्बुलेन्स लागूऔषध ओसारपसारमा प्रयोग भएको यो घटना कोशी प्रदेशमा गाँजा तस्करीले अपनाइरहेको नयाँ शैलीको एउटा उदाहरण मात्र हो। पछिल्ला वर्षहरूमा तस्करले प्रहरीको नियमित सुरक्षा जाँच छल्न एम्बुलेन्सदेखि सरकारी नम्बर प्लेटका गाडीसम्म प्रयोग गर्न थालेका छन्। धरानको उक्त एम्बुलेन्स बुढासुब्बा डाइग्नोस्टिक सेन्टर प्रालिले सञ्चालन गरेको खुले पनि गाँजा कसले राखेको थियो, कहाँ लैजान लागिएको थियो र चालक कहाँ गयो भन्ने प्रश्नको जवाफ अझै अनुसन्धानकै विषय बनेको छ।

त्यसको करिब दुई सातापछि धरान–४ भेडेटार बजार नजिकै अर्को एम्बुलेन्सबाट ठूलो परिमाणमा गाँजा बरामद भयो। प्रहरीका अनुसार चालकले प्रहरीको निगरानी छल्दै एम्बुलेन्स भेडेटार नाका पार गराएका थिए। धरान प्रवेश गर्ने क्रममा प्रहरी सक्रियता बढेपछि एम्बुलेन्स सडक किनारमा छाडेर चालक फरार भएका थिए। यसअघि चैत अन्तिमतिर पनि धरान–धनकुटा कोशी राजमार्गबाट छोटी मोरङ डाँडातर्फ जाने कच्ची सडकमा शंकास्पद अवस्थामा रोकिएको एम्बुलेन्सबाट गाँजा बरामद भएको थियो। चालक र सञ्चालकबारे अनुसन्धान भए पनि घटनाको मुख्य सञ्जालसम्म प्रहरी पुग्न सकेको छैन।

त्यस्तै, वैशाख २३ गते सुनसरीको बराहक्षेत्र नगरपालिका–२ पुलठ्ठे गैडामा भारतीय नम्बर प्लेटको एम्बुलेन्सबाट १४८ किलो गाँजा बरामद भयो। उक्त घटनामा भारत बिहारका १८ वर्षीय धर्मेन्द्रकुमार यादव र २१ वर्षीय मोहम्मद सदाम पक्राउ परे। यी घटनाले आपत्कालीन सेवाका साधनमाथि तस्करको नजर बढेको देखाउँछन्। सडकमा बिरामी बोकेको आशंकामा एम्बुलेन्सलाई अन्य सवारीसाधनको तुलनामा कम जाँच गरिने भएकाले तस्करले यही कमजोरीको फाइदा उठाउने गरेको प्रहरी अधिकारीहरू बताउँछन्। विशेषगरी रातको समयमा साइरन बजाउँदै तीव्र गतिमा गुड्ने एम्बुलेन्समाथि कम शंका हुने भएकाले यसको दुरुपयोग बढेको उनीहरूको भनाइ छ।

पाँच वर्षमा ७२ हजार किलोभन्दा बढी गाँजा

कोशी प्रदेशमा गाँजा तस्करीको आकार एम्बुलेन्सका घटनाले मात्र देखाउँदैन। प्रदेश प्रहरीको तथ्याङ्कअनुसार पछिल्ला पाँच आर्थिक वर्षमा ७२ हजार किलोभन्दा बढी गाँजा बरामद भएको छ। यही अवधिमा गाँजा ओसारपसार तथा कारोबारमा संलग्न ४४ भारतीय नागरिकसहित ८६३ जना पक्राउ परेका छन्। आर्थिक वर्ष २०७८/ ७९ मा २ हजार २१ किलो ९०१ ग्राम गाँजा बरामद भएकोमा २०७९/ ८० मा यो मात्रा बढेर ५ हजार ८१५ किलो पुग्यो। २०८०/ ८१ मा १० हजार ४२० किलो, २०८१/ ८२ मा २६ हजार ७०५ किलो र २०८२/ ८३ मा २७ हजार ६७१ किलो गाँजा बरामद भएको प्रहरी तथ्याङ्क छ।

बरामदको मात्रा बढ्दै जानुले प्रहरीको सक्रियता बढेको देखाए पनि गाँजा उत्पादन र तस्करीको समस्या नियन्त्रणमा आएको भने देखिँदैन। बरु तस्करले हरेक वर्ष नयाँ बाटो र नयाँ सवारीसाधन प्रयोग गरिरहेको प्रहरीको अनुभव छ। धनकुटा, भोजपुर, संखुवासभा, उदयपुर तथा आसपासका पहाडी क्षेत्रमा उत्पादन वा संकलन गरिएको गाँजा सुनसरी हुँदै भारततर्फ लैजाने क्रम लामो समयदेखि चलिरहेको छ। यस क्रममा एम्बुलेन्स, मिनी ट्रक, निजी सवारी, दूध तथा फलफूल बोक्ने सवारीसाधनसम्म प्रयोग हुने गरेको प्रहरी बताउँछ।

सुनसरी बन्यो मुख्य ट्रान्जिट

कोशी प्रदेशमा गाँजा तस्करीको प्रमुख ट्रान्जिटका रूपमा सुनसरी देखिएको छ। पछिल्ला पाँच आर्थिक वर्षमा मात्रै सुनसरीबाट करिब ३७ हजार ३८३ किलो गाँजा बरामद भएको तथ्याङ्क छ। गाँजा तस्करीको आरोपमा पक्राउ परेका ४४ भारतीय नागरिकमध्ये २५ जना सुनसरीबाट पक्राउ परेका छन्। सुनसरी भारतको बिहारसँग जोडिएको जिल्ला हो। कोशी नदी आसपासका क्षेत्र तथा सीमावर्ती नाकाबाट भारततर्फ गाँजा लैजाने प्रयास हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ। पूर्व–पश्चिम राजमार्ग र कोशी राजमार्ग हुँदै पनि गाँजा सीमासम्म पुर्‍याउने गरिएको बताइन्छ। खुला सीमा, ग्रामीण क्षेत्रमा निगरानीको कठिनाइ र तस्करको बदलिँदो शैलीका कारण नियन्त्रण चुनौतीपूर्ण रहेको प्रहरी अधिकारीहरूको भनाइ छ।

सरकारी गाडी पनि बनेको थियो तस्करीको साधन

गाँजा तस्करीमा एम्बुलेन्स मात्र होइन, सरकारी नम्बर प्लेटका गाडीसमेत प्रयोग भएको घटना सार्वजनिक भइसकेको छ। २०८१ मंसिर १९ गते सुनसरी प्रहरीले दुई सरकारी नम्बर प्लेटका गाडीबाट ६९० किलो गाँजा बरामद गरेको थियो। धनकुटाबाट धरानतर्फ आउँदै गरेका बा१झ ५१२७ र बा१झ ४६०५ नम्बरका ती गाडी धरान–१३ अमरहाटमा प्रहरी चेकिङबाट भाग्न खोज्दा नियन्त्रणमा लिइएका थिए। बा१झ ५१२७ नम्बरको गाडी कानून तथा न्याय मन्त्रालय र बा१झ ४६०५ नम्बरको गाडी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रहेको खुलेको थियो। नियन्त्रणमा लिने क्रममा प्रहरीले चार राउन्ड गोलीसमेत चलाएको थियो। यस घटनाले तस्करीमा संलग्न समूहले सुरक्षा निकायको विश्वास र सरकारी सवारीको पहिचानलाई समेत दुरुपयोग गर्न सक्ने जोखिम देखाएको छ।

गाँजा नियन्त्रण कि कानूनी खेती ?

गाँजा तस्करी बढिरहेका बेला यसको खेतीलाई औषधीय तथा औद्योगिक प्रयोजनका लागि कानूनी मान्यता दिने बहस पनि चर्किएको छ। गण्डकी प्रदेश सभाले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन गर्ने विधेयक पारित गरिसकेको छ। तर कोशी प्रदेशमा भने यस्तो कानूनी व्यवस्था गर्ने विषयमा अहिलेसम्म स्पष्ट पहल भएको छैन। कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीले गण्डकी प्रदेशले बनाएको कानूनी व्यवस्थाबारे अध्ययन गर्ने भए पनि संघीय कानून तथा अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासँग बाझिने गरी कानून बनाउँदा समस्या आउन सक्ने बताउनुभएको छ।

पूर्वप्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल ठकुरी भने गाँजा तस्करीको जालो तोड्न उत्पादनदेखि बजारसम्मको सञ्जालमाथि अनुसन्धान आवश्यक रहेको बताउनुहुन्छ। उहाँका अनुसार अवैध कारोबार रोक्न नसक्दा तस्करीसँगै संगठित अपराध र भ्रष्टाचारको जोखिम पनि बढ्न सक्छ। धनकुटाको शहीदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईका अनुसार २०३३ सालअघि नै त्यस क्षेत्रमा गाँजा उत्पादन र बिक्री हुने गरेको थियो। अहिले पनि पूर्ण रूपमा खेती समाप्त नभएको उहाँको भनाइ छ। कानूनी मान्यता नहुँदा किसानले यसको लाभ लिन नसकेको र उल्टै पक्राउ तथा मुद्दाको जोखिममा पर्ने अवस्था रहेको उहाँ बताउनुहुन्छ।

चुनौती केवल गाँजा बरामद गर्नु होइन

कोशी प्रदेशमा हरेक वर्ष ठूलो परिमाणमा गाँजा बरामद भइरहेको छ। तर बरामद हुने मात्रा बढ्नुले अर्को प्रश्न पनि उठाएको छ—गाँजा कहाँबाट आउँछ, कसले उत्पादन गर्छ र यसको ठूलो बजारसम्मको सञ्जाल कसले सञ्चालन गर्छ ?

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापा अपराधीले समयअनुसार तस्करीको शैली परिवर्तन गरिरहेको बताउनुहुन्छ। सुरक्षा जाँच छल्न संवेदनशील सेवाका सवारी प्रयोग हुन थालेपछि प्रहरी अनुसन्धान थप चुनौतीपूर्ण बनेको उहाँको भनाइ छ। कोशी एम्बुलेन्स चालक संघका अध्यक्ष अशोक यादव भने केही व्यक्तिको गलत कामका कारण इमानदारीपूर्वक सेवा गरिरहेका हजारौँ एम्बुलेन्स चालक र सञ्चालक बदनाम हुने अवस्था आएको बताउनुहुन्छ। त्यसैले एम्बुलेन्स सञ्चालक संस्थाले चालक, सवारीको प्रयोग र यात्राको अभिलेख व्यवस्थित राख्नुपर्ने उहाँको सुझाव छ।

अन्ततः समस्या केवल गाँजा बरामद गर्ने र चालक पक्राउ गर्नेमा सीमित छैन। पहाडी क्षेत्रमा हुने उत्पादन, ढुवानी, सीमापार तस्करी र त्यसबाट लाभ लिने समूहसम्म अनुसन्धान नपुगे गाँजाको यो चक्र तोड्न कठिन हुनेछ। एम्बुलेन्सजस्तो जीवन बचाउने साधनदेखि सरकारी गाडीसम्म तस्करीमा प्रयोग हुन थालेको अवस्थाले कोशीमा गाँजा कारोबारको जालो कति गहिरो छ भन्ने संकेत गर्छ। अब सुरक्षा जाँचमा मात्र होइन, उत्पादनदेखि तस्करीको अन्तिम गन्तव्यसम्म जोडिएको सम्पूर्ण सञ्जाल पहिचान गरी कारबाही गर्ने चुनौती प्रहरी र राज्यसामु छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय