काठमाडौं – परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युपछि उत्पन्न घटनाक्रमलाई नेपाल सरकारले गम्भीर रूपमा लिएर कूटनीतिक पहलमार्फत समाधान गरेको बताएकी छन्। बिहीबार ओमनमा आयोजित आठौँ हिन्द महासागर सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएकी उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग घटनाबारे जानकारी गराइन्। उनका अनुसार, ओडिसा घटनाका बारेमा बिहीबार मात्र उनले त्यहाँका उच्च शिक्षामन्त्री सूर्यवंशी सुरजसँग फोनमार्फत कुरा गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग राखेकी छन्। साथै, नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि उचित वातावरण उपलब्ध गराउन आग्रह गरिएको उनले बताइन्।

भारतीय मन्त्री सुरजले ओडिसा राज्यले घटनालाई गम्भीर रूपमा लिएको र न्याय सुनिश्चित गर्न उच्चस्तरीय छानबिन समिति गठन गरिएको जानकारी गराएका छन्। परराष्ट्रमन्त्री राणाका अनुसार, कूटनीतिक पहलपछि विश्वविद्यालयले माफी माग्दै विद्यार्थीहरूलाई होस्टेल फर्काएको छ भने, दुर्व्यवहार गर्ने कलेज स्टाफमाथि कारबाही गरिएको छ। नेपाल सरकार र दिल्लीस्थित नेपाली राजदूतावास ओडिसा सरकार तथा विश्वविद्यालय प्रशासनसँग सम्पर्कमा रही थप समन्वय गरिरहेको उनले जानकारी दिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय