काठमाडौं । प्राचीनकालमा तत्कालीन समाजको सूचना प्रसार गर्ने उद्देश्यले प्रारम्भ भएको कटुवाल प्रथा अहिले पनि कायमै छ । संचार माध्यमका अनेकौं प्रविधि विकास हुँदै जाँदा करिब हराइसकेको यो प्रथा पहाडी जिल्ला लमजुङमा भने अझै कायमै छ ।

लमजुङमा आधुनिक प्रविधिको विकास र पहुँच नभएको भने होइन । यहाँका प्रायःजसो नागरिकको हातहातमा मोबाइल र इन्टरनेट छ । तर पनि यहाँका कतिपय गाउँमा कटुवालकै भरमा सूचना दिने प्रचलन अझै कायमै छ । जिल्ला सदरमुकाम बेँसीसहर नगरपालिका–१० को गाउँबेँसी, लेतेफाँट, कल्लेरी, डाँडागाउँ, क्व्होलासोथर गाउँपालिका–८ घाम्राङ, घिचे, घाम्राङबँेसी, साल्मेलगायतका गाउँका स्थानीयले आफ्नै गाउँको खबर प्राप्त गर्न भने कटुवालकै भर पर्नुपर्छ । बेँसीसहर वडा नं १० का ७० वर्षीय कालु परियार जब गाउँको डाँडामा उभिएर ठूलो स्वरमा उर्दी जारी गर्न थाल्छन् सबै गाउँले आफूले गर्दै गरेको काम रोकेर कान ठाडो पार्दै ध्यानपूर्वक सुन्न थाल्छन् ।

परियारले डाँडाबाट आफ्ना गाउँमा हुन लागेको वा हुनेवाला सूचना वा खबर सुनाउनुहुन्छ । प्रविधिको माध्यमबाट सूचना दिने क्रम बढे पनि यहाँका गाउँका बासिन्दा यसरी दिने सूचना (खबर) मै विश्वास गर्छन् । गाउँमा हुने विभिन्न खाले भेला, कार्यक्रम तथा बैठक, विवाहलगायत शुभकार्यमा स्थानीयवासीलाई सहभागी गराउन कटुवालले नै खबर गर्ने प्रचलन छ । कटुवाल परियारले यसरी नै गाउँमा कराउँदै सूचना दिँदै आएको ३५ वर्ष भएको बताउँछन् ।

गाउँको रीतिस्थितिअनुसार असिना बार्ने, बीउ बार्नेदेखि विकास निर्माणका काममा सामूहिक काम गराउन, सामुदायिक वनको गोडमेल, खानेपानीको मर्मतसम्हार, दाउरा काट्ने, दुःख–बिमारमा सघाउने, गाईभैँसी लेकमा लैजाने बेँसीमा राख्नेलगायत काममा पनि कटुवालले नै गाउँलेलाई खबर गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय