काठमाडौं । लेग स्पिनर सन्दीप लामिछाने एक्लै पाँच विकेट र कप्तान रोहितकुमार पौडेलले अर्धसतकीय इनिङ्स खेलेपछि नेपालले कतारमाथि पाँच रनको रोमाञ्चक जित निकालेको छ । ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा सोमबार राति भएको आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा हारको नजिक पुगेको नेपालले अन्तिम ओभरमा नतिजा उल्टाएको हो ।
जितका लागि एक सय ४८ रनको लक्ष्य पछ्याएको कतार १९ दशलमव ५ ओभरमा सवै विकेट गुमाएर १ सय ४२ रनमा समेटिएको थियो ।
कतारका लागि ओपनर इमाल लियानागेले ३५ बलमा ५५ रन बनाए । यस्तै जुबेर अलीले ५२ रन बनाउँदा अन्य ब्याट्सम्यान चल्न सकेनन् । कतारको ब्याटिङ कमजोर बनाउन बलिङमा नेपालका सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे । लामिछानेले ३ दशलमव ५ ओभरमा १८ रन खर्चिएर पाँच विकेट लिएका थिए ।

यससँगै सन्दीपको अन्तर्राष्ट्रिय विकेट संख्या २ सय ५४ पुगेको छ । सन्दीप प्लेयर अफ द म्याच बने । यस्तै नन्दन यादवले दुई तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ४७ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहितले ४१ बलमा ५८, उपकप्तान दीपेन्द्रसिंह ऐरीले २१ बलमा २६ र गुल्शन झाले ८ बलमा १६ रनको योगदान दिए ।
नेपालले सुपर सिक्सको पहिलो खेलमा आइतबार युएईलाई एक रनले हराएको थियो । जितसँगै सुपर सिक्समा ६ अंक बनाएको नेपाल विश्वकप छनोट नजिक पुगेको छ । ओमानको पनि समान ६ अङ्क छ ।

नेपालले बुधबार सुपर सिक्सको शीर्ष टोली ओमानसँग खेल्नेछ । ओमानलाई हराएमा नेपालले विश्वकपमा सथान बनाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय