सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनापछि जिल्लामा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्ने विषयमा विभिन्न धर्मसम्प्रदायका अगुवा तथा धर्मगुरुहरूको भेला गरिएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालको अगुवाइमा आयोजित भेलामा हिन्दु, मुस्लिम, इसाई र बौद्ध धर्मका धर्मगुरु तथा अगुवाहरूको सहभागिता रहेको थियो। भेलामा कप्तानगञ्ज घटनापछि उत्पन्न परिस्थितिका बीच समुदायमा आपसी सद्भाव, भाइचारा र सहिष्णुता कायम राख्ने विषयमा छलफल गरिएको थियो।

प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार घटनापछि उत्पन्न परिस्थितिलाई थप संवेदनशील बन्न नदिई जिल्लामा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै पक्षले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने विषयमा छलफल भएको हो। भेलामा धार्मिक अगुवाहरूले समुदायमा शान्ति, सद्भाव र सहअस्तित्व कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने भएकाले उनीहरूमार्फत समुदायस्तरसम्म सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिएका थिए।

विभिन्न धर्मका अगुवाहरूले धार्मिक तथा सामाजिक विषयलाई लिएर समुदायबीच अविश्वास र तनाव सिर्जना हुन नदिन संवाद तथा सहकार्यलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए। सामाजिक सद्भाव कायम राख्न सबै धर्मसम्प्रदाय र समुदायबीच पारस्परिक सम्मान तथा सहिष्णुता आवश्यक रहेको उनीहरूको भनाइ थियो। भेलामा सहभागी धर्मगुरु तथा धार्मिक अगुवाहरूले सुनसरीमा दीगो शान्ति र सामाजिक सद्भाव कायम राख्न आ–आफ्नो क्षेत्रबाट ठोस पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कप्तानगञ्ज घटनापछि उत्पन्न परिस्थितिमा धार्मिक तथा सामाजिक अगुवाहरूको सामूहिक पहललाई सकारात्मक रूपमा लिइएको छ। स्थानीयस्तरमा संवाद, सहकार्य र आपसी समझदारी बढाउँदै सम्भावित तनावलाई नियन्त्रण गर्न धार्मिक अगुवाहरूले समुदायमा सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय