काठमाडौं । चन्द्रागिरि नगरपालिकामा रहेको ‘कमला कार्की स्मृति प्रतिष्ठान’ ले नगर क्षेत्रमा बसोबास गर्ने महिला व्यक्तित्वहरूलाई विभिन्न विधामा सम्मान गरेको छ । दशौं ‘कमला कार्की स्मृति दिवस’ का अवसरमा प्रतिष्ठानले सम्मान गरेको हो । नैकापस्थित ब्राइट फ्युचर माध्यमिक विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष मोहन कुमार कार्की र प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले संयुक्तरुपमा सम्मान गर्नुभएको हो ।



प्रतिष्ठानले यसवर्ष फरक शारीरिक क्षमता भएका बालबालिकाहरूलाई संरक्षण गर्ने संस्था सिर्जनशील अपांग विद्यालयलाई नगद १ लाख १ रुपैयाँ र ताम्रपत्रबाट सम्मान गरेको छ ।
यसैगरी, पत्रकारितातर्फ विष्णु पन्थी, खेलाडीतर्फ महिला कराँते खेलाडी सानुमाया थिङ, सामाजिक कार्यतर्फ चन्द्रागिरि वडा नं. २ कि डा. सन्जु भट्ट बस्नेत, वडा नं. १४ कि जेष्ठ नागरिक ९७ वर्षीया नानी कार्की, वडा नंं १५ कि जेष्ठ नागरिक साहिली कार्की जनही नगद १५ हजार १ रुपैयाँ र ताम्रपत्रबाट सम्मानित भएका छन् ।
प्रतिष्ठानले विगत एक दशकदेखि महिला सशक्तीकरण, आत्मनिर्भरता र क्षमता विकासको लक्ष्यसहित चन्द्रागिरिका अगुवा महिलाहरूलाई जनही १५ हजार १ रुपैयाँ र प्रमाणपत्र तथा क्रियाशील महिलाको क्षेत्रमा काम गर्ने एक संस्थालाई १ लाख १ रुपैयाँ तथा प्रमाणपत्र प्रदान गर्दै आएको संस्थापक अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार एवम् ब्राइट फ्युचर माविका प्रधानाध्यापक दयाराम थापा, प्रतिष्ठानका संरक्षक अम्बिका कार्की, बागमती प्रदेश सभा सदस्य केशव पोखरेल, एमाले नेता कृष्णगोपाल श्रेष्ठ, समाजसेवी एवम् नेता देवेन्द्र प्रधान, चन्द्रागिरि–१४ का वडाध्यक्ष राजभाई महर्जन, हास्य कलाकार शिवहरी पौडेल लगायतको उपस्थिति रहेको थियो । ब्राइट फ्यूचर माविका संस्थापक अध्यक्षसमेत रहनुभएका मोहन कुमार कार्कीले आफ्नी दिवंगत आमाको नाममा प्रतिष्ठान स्थापना गर्नुभएको हो ।



