काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३२, कोटेश्वरमा निर्माण हुन लागेको वडा प्रशासकीय भवनको शिलान्यास गरिएको छ। आज आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले संयुक्त रूपमा भवनको शिलान्यास गर्नुभएको हो। मनोहरा जग्गा एकीकरण आयोजनाअन्तर्गत करिब २८ करोड रुपैयाँ लागतमा खरिद गरिएको ४ रोपनी ३ आना १ पैसा क्षेत्रफलको जग्गामा वडा कार्यालय भवन निर्माण सुरु गरिएको हो। वडा कार्यालय भवन निर्माणका लागि कुल १७ करोड ४२ लाख ७० हजार ८७५ रुपैयाँ लागत अनुमान गरिएको थियो।

बोलपत्र प्रक्रियामार्फत प्रतिस्पर्धामा सहभागी निर्माण कम्पनीहरूमध्ये चौधरी भीषण एशोसियट जेभीले ३२.३३ प्रतिशत कम रकममा, अर्थात् ११ करोड ७९ लाख ३० हजार ५११ रुपैयाँमा निर्माणको जिम्मा पाएको छ। निर्माण कम्पनीसँग काठमाडौँ महानगरपालिकाले २०८२ पुस २९ गते सम्झौता गरेको हो। सम्झौताअनुसार भवन निर्माणको काम २०८३ पौष मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। वडा प्रशासकीय भवन निर्माणपछि सेवाग्राहीलाई एकै स्थानबाट सहज र व्यवस्थित रूपमा सेवा प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको महानगरपालिकाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय