काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा जारी राखेको छ ।बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा कायम गरिएको सेनाले जनाएको छ । अत्यावश्यक कामका लागि बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म आवतजावत गर्न पाइने समय नेपाली सेनाले तोकेको छ ।
बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म कफ्र्यु कायमै रहेको नेपाली सेनाले जनाएको हो । निषेधाज्ञामा कफ्र्युको अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीका साथै खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ढुवानी गर्ने सवारी साधन सञ्चालन गर्न पाउनेछन् ।




यस्तै, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थालगायत सार्वजनिक संस्थानका कर्मचारीले आफ्नो परिचयपत्र देखाई कार्यालयसम्म आवतजावत गर्न सक्ने जानकारी सेनाले दिएको छ ।आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरुले आफ्नो टिकट देखाई विमानस्थलसम्म जान पाउने व्यवस्था गरिएको छ ।
काठमाडौं उपत्यका बाहिरको क्षेत्रमा भने सुरक्षा परिस्थिति अनुसार सम्बन्धित जिल्ला सुरक्षा समितिले निर्णय गर्ने जनाइएको छ ।



