काठमाडौं । काठमाडौं जिल्लामा बक्सिङ खेलको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौं जिल्ला बक्सिङ संघ गठन गरिएको छ । काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाइकृष्ण बलामीको प्रमुख आतिथ्यमा सम्पन्न छैटौँ साधारणसभाबाट उक्त संघ औपचारिक रूपमा गठन गरिएको हो । कार्यक्रममा बक्सिङ क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । विशेषगरी, प्रसिद्ध बक्सिङ खेलाडी तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सहायक प्रशिक्षक दीपक महर्जन को सहभागिताले कार्यक्रमलाई थप महत्त्वपूर्ण बनाएको थियो।
त्यसैगरी, नेपाल बक्सिङ महासंघ का केन्द्रीय सदस्यहरू, खेलकुदकर्मी तथा सरोकारवालाहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा बक्सिङ खेलको वर्तमान अवस्था, चुनौती तथा सम्भावनाका विषयमा विस्तृत छलफल गरिएको थियो।

रमेश श्रेष्ठको अध्यक्ष्यतामा गठित १३ सदस्यीय संघले जिल्लास्तरमा बक्सिङ खेलाडी उत्पादन, नियमित प्रशिक्षण सञ्चालन, प्रतियोगिता आयोजना तथा नयाँ प्रतिभा पहिचान गर्ने लक्ष्य लिएको जनाएको छ । सहभागीहरूले विद्यालय तथा समुदायस्तरबाटै बक्सिङ खेललाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका थिए । वक्ताहरूले बक्सिङ खेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन आवश्यक पूर्वाधार विकास, प्रशिक्षक उत्पादन र समन्वयात्मक पहल आवश्यक रहेको उल्लेख गरेका छन् । साथै, खेलाडीहरूको हकहित संरक्षण र उनीहरूको क्षमता अभिवृद्धिमा संघले सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।

नवगठित काठमाडौं जिल्ला बक्सिङ संघले आगामी दिनमा विभिन्न प्रतियोगिता तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै बक्सिङ खेलप्रतिको आकर्षण बढाउने योजना बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय