काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट काठमाडौं क्षेत्र नं. १० का प्रतिनिधिसभा सदस्यमा निर्वाचित प्रदिप विष्टले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् ।



जिल्ला निर्वाचन कार्यालयमा बुझाइएको विवरणअनुसार विष्टले निर्वाचन अभियानका क्रममा कुल ७ लाख ४९ हजार १ सय ६ रुपैयाँ खर्च गरेको उल्लेख गरेका छन् । खर्च विवरणमा सबैभन्दा बढी रकम खाना शीर्षकमा खर्च भएको देखिएको छ । यस शीर्षकमा ३ लाख ७५ हजार ८ सय ९५ रुपैयाँ खर्च गरिएको उल्लेख छ । त्यसपछि पोशाक, लुगा, झण्डामा २ लाख १० हजार ३ सय ३५ रुपैयाँ खर्च भएको जनाइएको छ ।
त्यस्तै संगीत तथा ध्वनी शीर्षकमा २३ हजार २० रुपैयाँ, यातायातमा ११ हजार १० रुपैयाँ, छपाइ तथा स्टेशनरीमा ८८ हजार ४ सय ९६ रुपैयाँ, विद्युतयि उपकरणमा ३० हजार रुपैयाँ, मनोनयन दर्तामा १० हजार र विविधमा ३ सय ५० गरी कूल ७ लाख ४९ हजार १ सय ६ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।
निर्वाचन आयोगको व्यवस्था अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने उम्मेदवारहरूले निर्वाचन सम्पन्न भएको ३५ दिनभित्र आफ्नो चुनावी खर्चको विस्तृत विवरण सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्ने प्रावधान छ । काठमाडौं क्षेत्र नं. १० बाट रास्वपाका विष्ट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।



