कालिकोट । कालीकोट जिल्लाको पलाँता गाउँपालिका–२ लार्फ गाउँ नजिक ट्याक्टर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार दुर्घटना वैशाख ७ गते राति करिब ११ः३० बजे भएको हो ।
खाद्यान्न बोकेर पलाँता–९ थिर्पूबाट खिनतर्फ जाँदै गरेको ट्याक्टर लार्फ गाउँ नजिकै सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीको प्रारम्भिक जानकारीमा उल्लेख गरिएको छ । ज्यान गुमाउनेमा पलाँता–५ की ३२ वर्षीया अम्मा शाही, वडा नम्बर ४ की ३८ वर्षीया सदु बुढा, सोही वडाका २३ वर्षीया रविन्द्र विश्वकर्मा र ट्याक्टर चालक मुगु खत्याड गाउँपालिका निवासी चन्द्रप्रकाश रोकाया रहेका छन्। सबैको घटनास्थलमै मृत्यु भएको बताइएको छ।



दुर्घटना भएको ट्याक्टरको नम्बर प्लेट भने हालसम्म नखुलेको र थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोविन्द्र प्रसाद चौधरीले जानकारी दिएका छन्।



