पहिरोले राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी कोरिडोर एक सातादेखि ठप्प भएको छ । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीको बेलबगरमा खसेको पहिरोले करिडोर सडकको बागलुङ खण्ड एक सातादेखि ठप्प भएको हो । निरन्तरको वर्षाले पहिरो पन्छाउन समस्या भएपछि शुक्रबारदेखि अवरुद्व सडक खुल्न नसकेको हो । सडक अवरूद्ध हुँदा बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद भएको छ । बागलुङबाट गुल्मी, स्याङ्जा, पाल्पा हुँदै रुपन्देहीसम्म यात्रुबहाक सवारी र खाद्यन्न बोकेर आएका मालबहाक ट्रकहरु बेलबगरमै रोकिएका छन् ।

सडक डिभिजन कार्यालयको समन्वयमा जेसीबी मेसिन परिचालन गरी पहिरो हटाउने कार्य भइरहेपनि निरन्तरको वर्षाले काम प्रभावित भएको छ । पहिरो ठूलो तथा जटिल प्रकृतिको भएकाले सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन समय लाग्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो । पहिरो पन्छाउन ३ ओटा मेशिन प्रयोग गरिएपनि वर्षाले काम प्रभावित भएको जैमिनी नगरपालिकाका उप–प्रमुख हरिहर शर्माले बताउनुभयो । वर्षा र पहिरो झर्ने क्रम नरोकिँदा सडक खुलाउन समस्या परिरहेको छ । ‘मेशिनले सफा गर्दै जाने र पहिरो खस्ने क्रम पनि चलिरहँदा सडक खुलाउन लामो समय लाग्ने उहाँको भनाइ छ ।

कमजोर भू–बनोटका कारण वर्षायाममा बेलबगरको पहिरोले यात्रुलाई जोखिमपूर्ण यात्रा र सास्ती दिने गरेको नगर उप–प्रमुख शर्माले बताउनुभयो । यसपटक बेलबगरमा ठूलो पहिरो जाँदा छिस्तीको मुख्य नाका पुरै क्षति ग्रस्त भएको शर्माको भनाइ छ । सालझण्डी–ढोरपाटन सडकअन्तर्गत बुर्तिबाङ–ढोरपाटन खण्डको सुकुरदुङमा खसेको पहिरो पन्छाएपछि सडक खुलेको छ । ढोरपाटन नगरपालिका–९ सुकुरदुङमा सोमबार राती खसेको पहिरोले पर्यटक बोकेको स्कर्पियो पुर्नुका साथै सडक अवरुद्व भएको थियो । स्काभेटरको प्रयोग गरेर पहिरो सफा गरेपछि सडक सूचारु भएको प्रहरी नायव उपरिक्षक त्वातीले जानकारी दिए । त्वातीका अनुसार, सडक माथिबाट खसेको पहिरोमा पुरिएको ग १ य ९८२ नम्बरको स्कार्पियो समेत सुरक्षित स्थानमा निकालिएको छ । पहिरोमा स्कर्पियो पुरिए पनि मानवीय क्षति भने नभएको त्वातीले बताउनुभयो ।

वर्षातमा बुर्तिबाङ–ढोरपाटन सडकको फल्लेघरदेखि माथीको खण्डमा लेदोसहितको पहिरो खस्दा पटक–पटक अवरुद्व हुँदै आएको छ । १६ वर्षदेखि निर्माणाधिन यो खण्ड समयमै पुरा नहुँदा फल्लेघरको पहिरोले सास्ती दिएको ढोरपाटनका कार्यवहाक नगरप्रमुख धन बहादुर कायतले बताउनुभयो । नगरपालिकाले आफ्नै डोजर पठाएर सडक खुलाउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय