काठमाडौं । कीर्तिपुर नगरपालिका वडा नम्बर ३ अन्तर्गत नायगलफाँट क्षेत्रमा एक प्लटिङ्ग व्यवसायीले आफ्नो निर्माण स्थलबाट निस्किने ढल सिधै बल्खुखोलामा मिसाउने प्रयास गरेको खुलेको छ । स्थानीय बासिन्दा र सामाजिक अभियन्ताहरूका अनुसार यो कार्यले नदीको पानीको गुणस्तरमा गम्भीर असर पार्ने र सार्वजनिक स्वास्थ्यमा जोखिम बढाउने खतरा उत्पन्न भएको छ ।
स्थानीयले पटक–पटक नगरपालिका र वडा कार्यालयलाई जानकारी गराए पनि अहिलेसम्म कुनै ठोस कारबाही वा अनुगमन नभएको उनीहरूको गुनासो छ । यसले सम्बन्धित निकायको भूमिकामाथि प्रश्न उठाएको छ । स्थानीय बासिन्दाहरू प्रशासनको यो मौनतालाई वातावरण संरक्षण र नागरिकको स्वास्थ्य सुरक्षाका दृष्टिले चिन्ताजनक मानिरहेका छन् ।



प्रचलित कानुनअनुसार नदी, खोला तथा सार्वजनिक जलस्रोतमा ढल वा फोहोर फाल्नु गैरकानुनी मानिन्छ । वातावरण संरक्षण ऐन, २०७६ तथा जलस्रोत ऐन, २०४९ ले यस्ता कार्यलाई स्पष्ट रूपमा निषेध गरेको छ । कानुनले नदी प्रदूषण गर्ने व्यक्ति वा संस्थामाथि जरिवाना, निर्माण रोक्का तथा अन्य कानुनी कारबाहीको व्यवस्था गरेको भएपनि सोको कार्यान्वयन नभएको देखिएको छ ।
स्थानीयका अनुसार यदि तत्काल कदम नचालिए बल्खुखोलामा प्रदूषण बढ्नुका साथै वरपरका बस्तीमा स्वास्थ्य समस्या, संक्रामक रोगको जोखिम र वर्षायाममा बाढीको सम्भावना समेत बढ्न सक्छ । वातावरणविद्हरू पनि बल्खुखोला काठमाडौं उपत्यकाको संवेदनशील जल प्रणाली भएकाले यहाँ हुने कुनै पनि अव्यवस्थाले दीर्घकालीन असर पार्न सक्ने चेतावनी दिन्छन् ।
प्रहरी तथा स्थानीय निकाय स्रोतहरू स्वयंले पनि ढल नदीमा फाल्ने कार्य कानुनविपरीत भएको स्वीकार गरेका छन् । तर गैरकानुनी गतिविधिबारे जानकारी हुँदाहुँदै पनि तत्काल रोकथाम र दोषीमाथि कारबाही किन सुरु भएन भन्ने प्रश्न अनुत्तरित छ ।
स्थानीय नागरिकहरूले प्रशासनसँग तत्काल ढल फाल्ने प्रयास रोक्न, सम्बन्धित व्यवसायीमाथि कानुनअनुसार कारबाही गर्न र नदी संरक्षणका लागि नियमित अनुगमनको व्यवस्था गर्न माग गरेका छन् । उनीहरूको भनाइमा यदि प्रशासनले समयमै जिम्मेवारी निर्वाह नगरे यो समस्या झन् गम्भीर बन्दै जानेछ ।
यो विषय केवल स्थानीय विवादको रूपमा सीमित नभई वातावरणीय सुरक्षा, सार्वजनिक स्वास्थ्य र कानुनी शासनसँग प्रत्यक्ष जोडिएको मुद्दा भएको स्थानीयहरूको भनाइ छ । अब सम्बन्धित निकायले कानुन कार्यान्वयन गरेर जनताको विश्वास कायम गर्न सक्ने कि नसक्ने भन्ने प्रश्न खडा भएको छ ।



