काठमाडौं। कीर्तिपुर नगरपालिका वडा नं. ४ स्थित सिम क्षेत्रमा भइरहेको अव्यवस्थित जग्गा प्लटिङका कारण तल्लो बस्तीका स्थानीयवासी जोखिममा पर्न सक्ने भन्दै स्थानीयले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्। डाँडामा भइरहेको अव्यवस्थित प्लटिङ र वर्षाका कारण माटो बग्ने, कुलो अवरुद्ध हुने, सडकमा भेल बग्ने तथा पहिरो जाने जोखिम बढ्दै गएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका हुन्।
स्थानीयका अनुसार डाँडामा डोजर तथा जेसीबी प्रयोग गरी जमिन खन्ने र प्लटिङ गर्ने क्रममा वर्षाको पानीको उचित निकास तथा व्यवस्थापन नहुँदा तल्लो क्षेत्रका बस्ती प्रभावित हुन सक्ने जोखिम बढेको छ। वर्षायाममा माथिल्लो क्षेत्रबाट बग्ने पानी र माटोले तल्लो बस्तीमा क्षति पुर्याउन सक्ने भन्दै उनीहरूले समयमै आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्। स्थानीयले डोजर तथा जेसीबी सञ्चालन गर्नुअघि प्राविधिक सम्भाव्यता अध्ययन, भूगर्भीय जोखिम मूल्याङ्कन तथा आवश्यक जोखिम न्यूनीकरणका उपाय अनिवार्य गर्नुपर्ने माग गरेका छन्।



त्यसैगरी, वर्षाको पानीको व्यवस्थित निकास, कुलो तथा नालाको संरक्षण र सडकमा पानीको भेल बग्न नदिने व्यवस्था मिलाउन पनि सम्बन्धित निकायसँग आग्रह गरिएको छ। सम्भावित दुर्घटना हुनुअघि नै आवश्यक कदम चाल्नुपर्नेमा जोड दिँदै स्थानीयले व्यवसाय तथा जग्गा प्लटिङका नाममा बस्ती र सर्वसाधारणको जनधन जोखिममा पार्न नहुने बताएका छन्। यस विषयमा कीर्तिपुर नगरपालिका वडा नं. ४ का अध्यक्ष राजेन्द्र बानियाँ, नगरप्रमुख कृष्णमान डंगोल तथा सांसद प्रदीप विष्टको ध्यानाकर्षण गराइएको छ।
स्थानीयले सम्बन्धित जनप्रतिनिधि तथा नगरपालिकालाई स्थलगत अनुगमन गरी जोखिमको वास्तविक अवस्था पहिचान गर्न र आवश्यक नियन्त्रण तथा व्यवस्थापनका उपाय तत्काल कार्यान्वयन गर्न आग्रह गरेका छन्। वर्षायाममा अव्यवस्थित जग्गा उत्खनन, प्लटिङ र पानीको उचित निकास नहुँदा पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले सम्बन्धित निकायले समयमै चासो दिनुपर्ने स्थानीयको माग छ।



