काठमाडौं- काठमाडौंको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटस्थित चाँदनी चोक नजिक मङ्गलबार बिहान गुडिरहेको एक निजी कारमा अचानक आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ। बा ५ च ३०३८ नम्बरको किया कारमा आगलागी भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार आगलागीको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी र ट्राफिक प्रहरीको टोली घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको थियो।
प्रहरीले आगो पूर्ण रूपमा नियन्त्रणमा लिएपछि गाडीभित्र जाँच गर्दा चालकको जलेको अवस्थामा शव फेला परेको जनाएको छ। मृतक पुरुषको परिचय भने हालसम्म खुल्न नसकेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। शवको सनाखत तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।



प्रहरीका अनुसार आगलागी भएको उक्त किया कार नबिल बैंकको नाममा दर्ता रहेको खुलेको छ। तर दुर्घटनाको समयमा कार कसले चलाइरहेका थिए भन्ने विषयमा अनुसन्धान भइरहेको छ।
गुडिरहेको अवस्थामा कारमा एक्कासि आगलागी हुनुको कारण भने अझै खुलेको छैन। घटनाको वास्तविक कारण पत्ता लगाउन प्राविधिक टोलीको सहयोगमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
घटनापछि केही समय उक्त क्षेत्रमा सवारी आवागमन प्रभावित भएको थियो। सुरक्षा निकायले घटनास्थलको मुचुल्का तयार गरी आवश्यक प्रमाण सङ्कलन गरिरहेको जनाएको छ। प्रहरीले आगलागीको कारणबारे कुनै निष्कर्षमा पुगिनसकेको भन्दै अनुसन्धान पूरा भएपछि थप विवरण सार्वजनिक गरिने जनाएको छ।



