काठमाडौं । सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलन र प्राकृतिक विपद् प्रभावित क्षेत्रहरूमा पुनर्निर्माण, पूर्वाधार सुधारलगायत काम तीव्र रूपमा अघि बढाइएको बताउनुभएको छ । उहाँले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सयदिन पूरा भएको अवसरमा आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहरी मन्त्रालयमार्फत सम्पादित कामको विवरण सार्वजनिक गुर्नभएको हो ।
मन्त्री घिसिङका अनुसार आन्दोलनबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, सहरी पूर्वाधार विस्तार, फोहोर व्यवस्थापन, नदी संरक्षण र दीर्घकालीन सहरी योजना निर्माणमा उल्लेखनीय काम अघि बढाइएको छ । यस अवधिमा मन्त्रालयअन्र्तगतका चार रुग्ण ठेक्का तोडिएको छ ।
जेनजी आन्दोलनका कारण क्षति पुगेका सरकारी संरचनामध्ये सामान्य क्षति (हरियो स्टिकर) भएका १४० भवनको पुनर्निर्माण अन्तिम चरणमा पुगेका मन्त्री घिसिङले जानकारी दिनुभयो । खेल पूर्वाधारतर्फ त्रिवि क्रिकेट रङ्गशालाको पहिलो चरण निर्माण तथा ‘हाइमास्ट फ्लडलाइट’ जडान सम्पन्न गरी हस्तान्तरण गरिएको छ । साथै कीर्तिपुर क्रिकेट रङ्गशालाको गुरुयोजना स्वीकृत भई दोस्रो चरणको निर्माणका लागि १० अर्ब बराबरको स्रोत सुनिश्चितताको प्रक्रिया सुरु गरिएको मन्त्री घिसिङले बताउनुभयो ।



उपत्यकाको फोहोर व्यवस्थापनमा देखिएको अवरोध वार्तामार्फत समाधान गरी बञ्चरेडाँडा ल्याण्डफिल साइट सञ्चालनमा ल्याइएको जानकारी दिँदै मन्त्री घिसिङले स्थानीयवासीसँग विगतका सरकारी सम्झौताहरू कार्यान्वयन सुरु गरिनुका साथै दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरिएको बताउनुभयो । मेलम्ची खानेपानीको मुहान बन्द गराइएकामा वार्ताबाट समाधान गरी उपत्यकामा पानी वितरण पुनः सुरु गरिएको मन्त्री घिसिङले बताउनुभयो । निर्माण क्षेत्र सुधारका लागि बाँस संरचना डिजाइन मार्गदर्शन–२०८२, भवन निर्माण मार्गदर्शन–२०८२ र भूकम्पप्रतिरोधी भवन निर्माण संहिता परिमार्जन जारी गरिएको उहाँले बताउनुभयो ।
नीतिगत सुधारअन्तर्गत आवासको अधिकार नियमावली–२०८२, बागमती कार्ययोजना (२०२५–४५), नगर विकास कोषसम्बन्धी कानुन संशोधन, ग्रामीण पूर्वाधार विकास नीति तयारी प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ ।



