काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिएको छ। अब घिसिङले ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्रालयको नेतृत्व गर्ने भएका छन्। घिसिङ विद्युत प्राधिकरणको नेतृत्व गर्दै मुलुकभरको लोडसेडिङ अन्त्य गर्न सफल व्यक्तित्वका रूपमा चिनिन्छन्। सन् २०७३ सालमा कार्यकारी निर्देशक बनेपछि उनले राजधानी काठमाडौंसहित देशभरको विद्युत आपूर्तिमा सुधार ल्याउने पहल गरेका थिए। यस क्रममा उनले कुशल व्यवस्थापन, पारदर्शिता र रणनीतिक योजना अपनाउँदै विद्युत चोरी न्यूनीकरण, ग्रामीण क्षेत्रमा पहुँच विस्तारजस्ता कार्यहरू अघि बढाएका थिए।
उनको नेतृत्वमा लामो समय घाटामा रहेको प्राधिकरण नाफामा जान सफल भएको थियो। तर, कार्यकालको अन्त्यतिर केही उद्योगहरूलाई छुट बिल काट्ने निर्णयले उनी विवादमा पनि तानिएका थिए। २०८१ सालमा प्राधिकरणको दोस्रो कार्यकालको क्रममा तत्कालीन सरकारसँग ट्युनिङ नमिल्दा उनलाई पदमुक्त गरिएको थियो। त्यसपछि उनी उज्यालो नेपाल अभियानमार्फत स्वतन्त्र राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका छन् ।



रामेछापको बेथानमा जन्मिएका घिसिङले काठमाडौंबाट प्रारम्भिक शिक्षा प्राप्त गरेका थिए। उनले भारतको एनआईटी जमसेदपुरबाट विद्युत इन्जिनियरिङमा स्नातक, पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट पावर सिस्टममा स्नातकोत्तर र पोखरा विश्वविद्यालयबाट एमबीए गरेका छन्।



