के साहित्य हो ?  के होइन साहित्य ? साहित्यको प्रकृति के हो ? कस्ता लेखन साहित्यिक मानिन्छन् ? यी प्रश्नहरू हेर्दा त निकै सरल जस्तो लाग्छ तर यी प्रश्नहरूको सही उत्तर सायदै कहिलै कसैले स्पष्ट रूपमा दिएका पाइँदैन । साहित्यको एउटा रूप अर्थात् परिभाषालाई हेर्दा त सबै मुद्रित वाङ्मय हो भन्ने गरिन्छ तर अलिखित वेद, लोकसाहित्य तथा अमुद्रित लेखन पनि साहित्य हुन भन्ने विश्वव्यापी मान्यता पाइन्छ । साहित्यका बारेमा जान्न मानव सभ्यता विकासका बारेमा जान्नु पर्दछ किनकी भाषा, साहित्य, दर्शन तथा मानव संस्कृतिको विकास मानवको विकासकालसँगै जोडिएर आएको मानिन्छ । त्यसैले मानव सभ्यताका इतिहाससँग सम्बन्धित कुनै पनि कुरा साहित्य, भाषा, वाङ्मय र सिद्धान्त सीमाबाट बाहिर छैन । हामी कुनै युग या सभ्यताबारे बुझ्नका लागि साहित्यिक कृतिहरू र मुद्रित वा हस्तलिखित अभिलेखहरूको खोज अनुसन्धान गर्नु जरूरी छ । कुनै पनि कृतिलाई सांस्कृतिक इतिहासमा पनि यसको योगदान हुनसक्छ भन्ने दृष्टिले हेर्नुपर्छ, अध्ययन गर्नुपर्दछ । त्यसैले साहित्य एक प्राचीन इतिहास पनि हो । मानव सभ्यताको इतिहास तयार गर्ने पक्षमा धेरै कुराको खोज अध्ययन गर्न सकिन्छ तथापि त्यस्तो अध्ययन साहित्यिक भन्ने हुँदैन ।

साहित्यको परिभाषा गर्ने अर्को एउटा तरिका पनि छ जसमा साहित्यलाई महान् ग्रन्थभित्र मात्र सीमित गर्ने गरिन्छ । ती ग्रन्थ चाहे जेसुकै विषयका किन नहोऊन् शिल्प र अभिव्यञ्जनाका दृष्टिले महत्वपूर्ण हुनुपर्छ । यहाँ या त तिनका शौन्दर्यात्मक मूल्यलाई मानदण्ड मान्ने गरिन्छ या शौन्दर्यात्मक महत्वका साथ सामान्य बौद्धिक क्षमतालाई पनि त्यसको मूल आधार मानिन्छ । साहित्यको विधागत रचनामा गीतिकाव्य, नाटक र कथा साहित्यमध्ये महान् कृतिहरू शौन्दर्यशास्त्रीय आधारमा छनोट गरिन्छन् । अन्य पुस्तकहरू आफ्ना प्रसिद्धि बौद्धिक क्षमता वा अतिसङ्कीर्ण प्रकारका शौन्दर्यशास्त्रीय मूल्यका यिनमा जुन विशिष्टतातर्फ संकेत गरिन्छ आधारमा (Composition) र प्रस्तुतीकरणका सामान्य शक्ति हुन् ।

साहित्यका अधिकांश इतिहासहरूमा दार्शनिक, इतिहासकार, धर्मशास्त्री, आचारशास्त्री, राजनीतिज्ञ र वैज्ञानिकलाई समेत पनि स्थान दिइएको छ । साहित्यको पाटो दर्शनसँग जोडिएर आएको हुन्छ । भाषाको विकास हेर्नका लागि लिखित साहित्य आधारशीला बन्न सक्छ, पूर्वमा होस् या पश्चिममा साहित्यकारलाई चिन्नका लागि दार्शनिकका दर्शनलाई आधार मानिएको छ । पूर्वमा वेदव्यास, वाल्मीकि, शंकाराचार्य, पतञ्जली, आनन्दवर्धन, मम्मट आदि आचार्यका ग्रन्थ रचनालाई नहेरी पूर्वीय साहित्यको इतिहासको कल्पना गर्न पनि कठिन छ त्यस्तै पाश्चात्यमा बर्कले, हृयुम, विशप बट्लर, गिबन, बर्क, एडम स्मिथको रचनाको चर्चा गरिएकै हुन्छ । ती लेखकहरूको चर्चा कवि नाटककार र उपन्यासकारहरूका रूपमा रहेको देखिन्छ । साहित्यिक इतिहासहरूमा बिना उचित प्रसङ्ग, उनीहरूको विवेच्य विषयको इतिहास नदिइकनै अर्थात् दर्शन, नीतिशास्त्र, इतिहास दर्शन र आर्थिक सिद्धान्तका इतिहासको सही बुझाइविना नै छिटपुट रूपमा यी विचारहरूको चर्चा गरिनाले पनि विगतका साहित्यमा सबै विषय रहेको बोध हुन्छ ।

साहित्यको अध्ययन अध्यापन कार्यका लागि महान् ग्रन्थहरूको अध्ययन आवश्यक छ । साहित्यप्रतिको लगाव वा रुचि हुनेहरूले विशेषतः निजी अध्ययन आरम्भ गर्न चाहन्छन्, तिनले संकलित रचना र ऐतिहासिकताप्रति उत्सुकता जगाउने ग्रन्थहरूभन्दा महान् ग्रन्थहरूको, पुस्तकहरूको अध्ययन गर्नैपर्छ । तथापि हामीले यस विषयलाई शुद्ध रूपमा विज्ञान, इतिहास या कुनै पनि अन्य सञ्चित र विकासोन्मुख विषयका लागि स्वीकार गर्दछौं । ललित साहित्यका इतिहासलाई यदि ग्रन्थमा मात्र सीमित गरियो भने यसले साहित्यिक विधाहरूका विकासलाई, अझ साँचो अर्थमा भन्दा साहित्यिक प्रक्रियालाई नै बुझ्न कठिन हुनसक्छ । यसले सामाजिक, भाषिक, वैचारिक पृष्ठभूमि र त्यस्तै अन्य परिस्थितिहरू जस अनुकूल साहित्य सिर्जना गर्न सकिन्छ ती धमिलिन जान्छन् नै साथै के पनि हुन्छ भने यसमा इतिहास, दर्शन र अरू यस्तै विषयहरूमा ठोस शौन्दर्यशास्त्रीय दृष्टिकोणले स्थान पाउन सक्छ ।

साहित्य शब्दलाई साहित्यको कला अर्थात् ललित साहित्यसम्म मात्र सीमित मान्नु हुँदैन । आजको साहित्यले विशाल क्षेत्र ओगटिसकेको छ । यस शब्दलाई यसै सूक्ष्म रूपमा प्रयोग गर्नमा केही कठिनाइहरू पनि छन् । अङ्ग्रेजीमा यसका स्थानमा सम्भवतः फिक्सन (कथा), पोइट्री (कविता)) जस्ता शब्द प्रयोग गर्न सकिन्थ्यो तर यी त पहिलेदेखि नै सङ्कुचित अर्थमा प्रयुक्त हुँदै आएका देखिन्छन् ।

साहित्य शब्दलाई साहित्यको कला अर्थात् ललित साहित्यसम्म मात्र सीमित मान्नु हुँदैन । आजको साहित्यले विशाल क्षेत्र ओगटिसकेको छ । यस शब्दलाई यसै सूक्ष्म रूपमा प्रयोग गर्नमा केही कठिनाइहरू पनि छन् । अङ्ग्रेजीमा यसका स्थानमा सम्भवतः फिक्सन (कथा), पोइट्री (कविता)) जस्ता शब्द प्रयोग गर्न सकिन्थ्यो तर यी त पहिलेदेखि नै सङ्कुचित अर्थमा प्रयुक्त हुँदै आएका देखिन्छन् । यसका लागि इमेजिनेटिभ लिटरेचर (काल्पनिक साहित्य) या वेल लेटर (ललित साहित्य) को प्रयोग हुनसक्थ्यो तर यी दुवै शब्द भद्दा र भ्रामक छन् । लिटरेचरका विरुद्धमा एउटा विरोध त के छ भने यसले यो लिखित साहित्य मात्रै हो भन्ने ध्वनित हुन्छ किनभने यसको मूल शब्द लिटरा लेखनको वाचक हो तर के चाहिँ प्रस्ट छ भने साहित्यको कुनै पनि यस्तो अनुकूल कल्पना गर्न सकिँदैन जसमा मौखिक साहित्य पनि सामेल गर्न नसकियोस् । यस दृष्टिले अङ्ग्रेजीको लिटरेचर जर्मनको पर्यायवाची बोर्टकुन्स्ट र रुसी पर्यायवाची स्लोवेस्नोस्त बढी उपर्युक्त देखिन्छन् ।

साहित्य के हो ? भन्ने यस प्रश्नलाई समाधान गर्ने सबैभन्दा पहिलो सरल तरिका साहित्यमा भाषाको कुन विशेष रूप प्रयोग गरिन्छ भन्नेमा छ । भाषा साहित्यको त्यस्तै उपकरण हो जस्तो मूर्तिकलाका लागि ढुङ्गो, चित्रकलाका लागि रङ, सङ्गीतका लागि नाद जस्तै हो । तर के बुझ्न जरुरी छ भने भाषा ढुङ्गाजस्तो जड पदार्थ हैन । यो स्वयं मानवीय सृष्टि हो र यसर्थ यो कुनै न कुनै भाषाभाषी समूहको सांस्कृतिक उत्तराधिकारबाट जीवन्त छ । भाषाको साहित्यिक, दैनिक उपयोगको र वैज्ञानिक प्रयोगका भेदहरूलाई स्पष्ट पार्नु जरुरी छ । यस विषयमा थोमस ब्लर्क पोलसले ‘द नेचर अव द लिटरेचर’ (साहित्यको प्रकृति) नामक पुस्तकमा साहित्यिक भाषा र दैनन्दिन प्रयोगका भाषाका बारे उनले जुन भेद देखाएका छन् त्यो त असन्तोषजनक छैन । यो बडो महŒवपूर्ण समस्या हो र व्यवहारमा सरल पनि छैन किनभने अन्य कलाहरूसँग साहित्यको भिन्नता के हो भने यसको आफ्नै कुनै माध्यम छैन । त्यसको एउटा कारण के पनि हो भने यसका अनेक मिश्रित रूप छन् र सूक्ष्म सङ्क्रमण यसमा निश्चयतः विद्यमान हुन्छन् । विज्ञानको भाषा र साहित्यका भाषामा भेद देखाउन ज्यादै सजिलो छ । तै पनि विचार र आवेग वा भावनाका पृथकतालाई बुझ्नु मात्र पर्याप्त ज्ञान हुँदैन । साहित्यमा पनि विचार तŒव हुन्छ अनि भावात्मक भाषा साहित्यमा मात्र सीमित रहँदैन । दुई व्यक्तिको संवाद र झगडाका भाषामा निकै भिन्न । आदर्श वैज्ञानिक भाषा विशुद्ध अभिधात्मक नै हुन्छ । त्यसमा प्रत्येक निर्देश्य पक्षतिर एउटा अलग्गै चिन्ह हुन्छ । चिन्ह पूर्णतः यादृच्छिक हुन्छ र त्यसको स्थान त्यसको समानार्थी चिन्हले लिनसक्छ । त्यस्तो चिन्ह पारदर्शी पनि हुन्छ अर्थात् ध्यान त्यतातिर नगएर निःसन्देह रूपमा त्यसका निर्देश्य पक्षतिर मात्र जान्छ ।

वैज्ञानिक भाषा किञ्चित त्यस्तै एउटा चिन्ह प्रणालीतिर प्रवृत्त हुन्छ र त्यो गणित वा प्रतीकात्मक तर्कशास्त्रमा पाइन्छ । त्यसको आदर्श त्यस्तै प्रकारको सार्वभौम प्रतीक भाषा हुन्छ जसको योजना लाइब्नीजले सत्रौं शताब्दीमै बनाउन थालेका थिए । वैज्ञानिक भाषाका तुलनामा साहित्यिक भाषा केही अर्थमा त्रुटिपूर्ण देखिन्छ । त्यसमा थुप्रै अस्पष्टताहरू रहेका हुन्छन् । कुनै पनि अरू ऐतिहासिक भाषाहरू झै त्यो अनेकार्थी शब्दहरूले व्याकरणका लिङ्ग आदि कल्पित र तर्कहीन कोटिहरूले भरिएको हुन्छ । त्यो ऐतिहासिक संयोग, स्मृति र साहचर्यहरूले ओतप्रोत हुन्छ र एउटै शब्दमा भन्ने हो भने त्यो तथ्यपरक भन्दा पनि व्यञ्जनात्मक हुन्छ । त्यसबाहेक साहित्यिक भाषा अभिधात्मक त हुँदैहुन्छ, त्यसको अभिव्यञ्जना पक्ष पनि हुन्छ । त्यसले साहित्यमा प्रयुक्त पात्र वा लेखकको विचार र सिर्जनाको भावलाई पनि ध्वनित गर्छ । त्यसले जे भन्छ त्यत्ति भन्नु र अभिव्यन्जित गर्नु मात्र साहित्यिक भाषाको प्रयोजन हुँदैन । त्यसले आफ्ना पाठकहरूका भावनालाई प्रभावित गर्न खोज्छ, त्यसलाई प्रेरित गर्न खोज्छ र अन्त्यतः सकारात्मक रूपमा बदल्न चाहन्छ । साहित्यिक र वैज्ञानिक भाषामा एउटा अर्को महŒवपूर्ण भेद हुन्छ । साहित्यिक भाषामा चिन्हरूलाई नै, शब्दहरूका ध्वन्यात्मक प्रतीकहरूलाई नै उजिल्याइन्छ । त्यसतर्फ ध्यानाकर्षण गर्नलाई अनेक तरहका युक्तिहरू अपनाइन्छ जस्तो छन्द, अनुप्रास, ध्वनि योजना आदिका रूपमा रहेका हुन्छन् ।

साहित्यका विभिन्न कृतिहरूमा वैज्ञानिक भाषाबाट यी भिन्नताहरू भिन्नभिन्न मात्रामा खोज्न सकिन्छ – जस्तै ध्वनि योजना, जसको अनुवाद गर्न असम्भव हुन्छ र गीतहरूमा भन्दा उपन्यासमा यसको महŒव कम हुन्छ । भावना प्रच्छन्न वा लुप्तप्रायः हुनसक्छ त्यस्तो वस्तुप्रधान उपन्यासमा आत्मपरक गीति रचनामा भन्दा व्यञ्जनात्मक अंश धेरै कम मात्रामा पाइन्छ । शुद्ध कवितामा तथ्यपरकपन एकदमै कम पाइन्छ । त्यही कुरा सोद्देश्य उपन्यास वा व्यङ्ग्यात्मक कवितामा या सन्देशमूलक कवितामा बढी पाउन सकिन्छ । त्यसबाहेक भाषामा बौद्धिकताको मात्रा पनि अलगअलग हुन्छ । केही दार्शनिक र सन्देशमूलक कविता यस्ता हुन्छन् जसमा कतैकतै भाषाको प्रयोग वैज्ञानिक स्तरको हुन खोज्छ । तथापि ठोस साहित्यिक कलाकृतिहरूको नजिकबाट परीक्षण गर्दा जतिसुकै मिश्रित रूप नै किन नहोस् साहित्यिक प्रयोग र वैज्ञानिक प्रयोगका बीच स्पष्ट भेद हुन्छ । भाषाको ऐतिहासिक संरचनाबाट साहित्यिक भाषा एकदमै जकडिएको बनिबनाउ हुन्छ । यसले विधागत संरचना तथा शब्दकै विशिष्टतामाथि जोड दिन्छ । त्यसैले साहित्यको विधागत संरचना आफ्नै व्यञ्जनामूलक वा तथ्यमूलक पक्ष हुन्छन् जसलाई वैज्ञानिक भाषाले यथासम्भव कम गराउन कोशिस गर्छ । दैनन्दिन भाषा र साहित्यिक भाषाका बीच भेद गर्न बढी कठिन हुन्छ । दैनन्दिन भाषामा सर्वत्र एकरूपता पाइँदैन । त्यसमा विविधताको मिश्रण हुन्छ । जस्तो बोलचालको भाषा, वाणिज्य भाषा, कार्यालयीय भाषा, धर्मको भाषा, युवा तथा विद्यार्थीहरूमा प्रचलित (पासी) वर्गीय भाषा आदि । तर साहित्यिक भाषाका बारेमा जेजे भनिएको छ त्यो कुरा वैज्ञानिक प्रयोगमा बाहेक अन्य प्रयोगमा देख्न सकिन्छ । दैनन्दिन भाषाको व्यञ्जनात्मक उपयोग पनि हुनसक्ने देखिन्छ । सरकारी कामबारबाही र अभिलेखका भाषा एकअर्थी मात्र हुन्छन् त्यहाँ भावात्मक आक्रोशका क्षणमा व्यक्त भएका आवेगपूर्ण कुराहरूको प्रयोग गरिन्न ।

इतिहासका विभिन्न कालखण्डमा रचिएका साहित्यका रचनाका शौन्दर्यात्मक क्षेत्र सङ्कुचित वा फैलिंदै गरेको थाहा हुन्छ । व्यक्तिगत पत्र कुनै समयमा कलाकै एक रूप मानिन्थ्यो र त्यस्तै हालत धार्मिक रचनाहरूको पनि थियो । वर्तमानमा कला विधामा मिश्रणका विरुद्ध समकालीन प्रवृत्तिलाई स्वीकार गरेर हिँड्ने हो भने शौन्दर्यात्मक उपयोगको क्षेत्र सङ्कीर्ण हुँदै गएको पाइन्छ भने कलाका शुद्धतामा बढी जोड दिइँदै साहित्य रचना गर्ने गरिएको पाइन्छ ।

कुनै यस्ता क्षण पनि आउँछन् जसमा यसले वैज्ञानिक भाषाका मानक रूपसम्म पुग्ने प्रयत्न गर्छ । दैनन्दिन कुराकानीमा स्वयं चिन्हहरू प्रतिकै सजगता धेरै कम अवसरमा देख्नसकिन्छ । अँ कहिलेकाहीँ नाम र क्रियाहरूका ध्वनिप्रतीकहरूमा त्यसप्रकारको सतर्कता देखिन्छ । दैनन्दिन भाषालाई प्रायः कुनै वाञ्छित फलप्राप्तिका निमित्त प्रयोग गरिएको हुन्छ, त्यसले मानिसका भावना र कार्यहरूमा प्रभावित गर्न खोज्दछ । अतः प्रथमतः साहित्यिक भाषा र दैनन्दिन भाषाको विविध प्रयोगका बीच परिमाणपनका आधारमा विभाजन गर्न सकिन्छ । साहित्यिक भाषाका सामथ्र्यको उपयोग सुविचारित र सुव्यवस्थित ढङ्गले गर्नसकिन्छ । आत्मनिष्ठ कविका कृतिमा एउटा यस्तो सुगठित व्यक्तित्व देख्न सकिन्छ जो दैनन्दिन जीवनमा देखिने व्यक्तिहरू भन्दा अत्यन्त सुसङ्गठित र सर्वव्यापी देखिन्छ । केही कविताहरूमा जानाजान विरोधाभास र वस्तुगत अर्थको प्रयोग गरिन्छ, अर्थको सन्दर्भ फेरिन्छ र जानाजान लिङ्ग, काल जस्ता व्याकरणिक कोटिहरूको युक्तिहीन सङ्गतिको प्रयोग गरी विशिष्ट बनाउन खोजेको जस्तो देखिन्छ । काव्यमा प्रयोग गरिएको भाषाले दैनन्दिन भाषाका शक्तिलाई सङ्गठित गर्छ, कसेर राख्छ र सचेत गर्ने तथा ध्यान आकृष्ट गर्ने उद्देश्य राख्दछ । तीमध्ये कतिपय भाषिाक शक्ति त लेखकलाई पूर्वजहरूका बाटो पहिल्याए झैं बनाएर प्रस्तुत गराईदिन्छ । साहित्यमा र विशेषतः कुनै युगका कविहरूले स्थापित रूढिको नै प्रयोग गरेका
छन् । मानौं भाषा उनीहरूका लागि स्वयं काव्यमय बनेर उपस्थित बनेको हुन्छ । त्यसो भएर पनि प्रत्येक कलाकृतिले आफ्ना सामग्रीलाई एउटा व्यवस्थामा, एउटा विन्यास विधानमा र एउटा अन्वितिमा जोडिदिन्छ । कहिलेकाहीँ त्यस्ता अन्विति अलि शिथिल जस्ता लाग्छन् जस्तो कुनै रेखाचित्र वा साहसिक कथाहरूमा देख्न सकिन्छ । साहित्य लेखनको क्रममा यो निरन्तर जटिलतिर बढ्दै जान्छ र अन्त्यमा अत्यन्त सुगठित कविताका रूपमा फेरिन्छ जसबाट समग्रतामा क्षति नपु¥याइकन एउटा पनि शब्दलाई हटाउन वा यताउता गराउन असम्भव हुन्छ (कवि कालिदास वा महाकवि देवकोटाका कवितालाई लिन सकिन्छ ) ।

साहित्यिक भाषा र दैनन्दिन भाषाका बीच व्यावहारिक भेद एकदमै स्पष्ट छ । जसले हामीलाई कुनै निश्चित बाह्य क्रियाकलापमा प्रेरित गर्छ त्यसलाई हामी या कविता नै मान्न अस्वीकार गर्र्छौ या तुकबन्दी मात्र भन्न सक्छौं । असल कविताले हामीलाई बडो सूक्ष्म रूपमा प्रभावित गर्छ । कलाका साथमा कुनै न कुनै तरहको संरचनागत ढाँचा रहेकै हुन्छ जसले कृतिगत कथ्यलाई जीवनजगत्का वास्तविकताबाट ग्रहण गर्छ । शब्दार्थ विश्लेषणमा हामी शौन्दर्यशास्त्रीय विन्यासका रूपमा प्रस्तुत गर्नसक्छौं । साहित्यमा भाषा विषयक विविध सङ्कथनहरूमा शौन्दर्यात्मक उपयोग भएको पाइन्छ । यदि हामीले समस्त प्रचारात्मक कलालाई या उपदेशात्मक र व्यङ्ग्यात्मक कवितालाई साहित्यबाट निकालिदिन हो भने त्यो साहित्यको एउटा सङ्कीर्ण कुलो मात्र बन्न जान्छ । साहित्यमा प्रयुक्त भाषाको आधारलाई हेर्दा हामीले साहित्यमा जीवनी, निबन्ध र अधिकांश आलङ्कारिक मध्यवर्ती रूपहरूलाई पनि स्वीकार गर्नु पर्दछ । इतिहासका विभिन्न कालखण्डमा रचिएका साहित्यका रचनाका शौन्दर्यात्मक क्षेत्र सङ्कुचित वा फैलिंदै गरेको थाहा हुन्छ । व्यक्तिगत पत्र कुनै समयमा कलाकै एक रूप मानिन्थ्यो र त्यस्तै हालत धार्मिक रचनाहरूको पनि थियो । वर्तमानमा कला विधामा मिश्रणका विरुद्ध समकालीन प्रवृत्तिलाई स्वीकार गरेर हिँड्ने हो भने शौन्दर्यात्मक उपयोगको क्षेत्र सङ्कीर्ण हुँदै गएको पाइन्छ भने कलाका शुद्धतामा बढी जोड दिइँदै साहित्य रचना गर्ने गरिएको पाइन्छ ।

निष्कर्ष

कुनै पनि परिभाषाबाट विज्ञानले जस्तै स्पष्ट अर्थबोध गराउँदैन तर साहित्य के हो भन्ने सोझो र स्पष्ट जवाफ पाइँदैन । सबैको भनाईबाट निष्कर्षमा पुग्नुपर्ने हुन्छ – साहित्य त्यस्तो सुन्दर भाषिक सिर्जना हो, जसमा सारपूर्ण सन्देश वा विचार सन्निहित हुन्छ । साहित्यले पाठकलाई मनोरञ्जन दिनुका साथै समकालीन परिवेशको जीवन्त गाथा हृदयस्पर्शी तरिकाले अभिव्यक्त गरिरहेको हुन्छ ।

अर्थात्, साहित्य मूलतः लिखित भाषामा प्रस्तुत हुने सिर्जना हो, जसमा ध्वनि, अर्थ र प्रसङ्गअनुसार शब्दहरू चुनिएका हुन्छन् । साहित्यमा भन्नुपर्ने कुरा सोझै नभनेर अर्थमय र लयात्मक पाराले बिम्ब वा प्रतीकका माध्यमबाट व्यक्त हुन्छ, जसले पढ्नु वा सुन्नुमै पनि आनन्द प्रदान गर्छ । मानवीय हितका दृष्टिले गर्नु हुने–नहुने, राम्रो नराम्रो, ठीक–बेठीक आदि कुरा सामाजिक घटनाको प्रस्तुतिमार्फत दृष्टान्तका रूपमा सन्निहित हुने साहित्यिक प्रस्तुतिले पाठकलाई प्रेम, यौन, दया, आश्चर्य, बीभत्स, रोमाञ्च, विस्मय, आह्लाद आदिको गहिरो स्वाद प्रदान गर्छ । यसरी साहित्यिक सिर्जना आनन्दको स्रोतका अतिरिक्त ज्ञानको साधन, समाजको इतिहास भएकाले सम्पत्ति, सोपान, उन्नतिको परिचय र प्रतिष्ठा पनि हो ।

साहित्य (शब्द, उखान–टुक्का, वाक्य, शैली, सङ्गति आदिद्वारा निर्मित बिम्ब, प्रतीक, अलङ्कारको समष्टि रूप) ले रमाइलो मात्र पारिरहेको हुँदैन, हुनुपर्ने नभएर नहुनुपर्ने भएको, हुनपर्ने जसरी नभएको आदि फरक स्थितिको ज्ञान पनि दिइरहेको हुन्छ । यसरी यसले एकातिर समाजलाई उठ्न मद्दत गर्छ भने अर्कातिर यो आफै समाजको परिचय, प्रतिष्ठा र इतिहास (दर्पण) पनि भइरहेको हुन्छ ।

अझ प्रस्ट हुन कर्नेलको घोडा कथाको उदाहरण लिऊँ । बीपी कोइरालाको यस कथाले पाठकका मनमा घटनाबारे जानकारी र आनन्दका अतिरिक्त असमान दाम्पत्य जीवनबाट हुने समस्या र अपनाउनुपर्ने सावधानीबारे सचेत गर्छ तर उसै बेला आ–आफ्नो आदत, भावना र मनोकाङ्क्षा आदिका जोरले मान्छे सावधान हुन सक्तैन र दुर्घटना हुन्छ भन्ने ज्ञान पनि दिन्छ । समाजको यथार्थ चित्र प्रस्तुत गर्ने यस कथाको मुख्य सन्देश नै अधबैसे कर्नेल, उसकी तरुनी स्वास्नी र घोडाको कथा भन्ने बहानामा सामाजिक चेतना विस्तार गर्नु हो ।

त्यसैले साहित्य अभिव्यक्तिको उत्कृष्ट अभिव्यञ्जनात्मक माध्यमका रूपमा मानवीय उत्थानको बाटो देखाउने चम्किलो राँको वा टर्चलाइट हो, आत्मसन्तुष्टि र आनन्दको सर्वोत्कृष्ट स्रोत, सर्वाङ्गीण मानवीय परिष्कारको सोपान र मानवीय उपलब्धिको उत्कृष्ट अभिलेख हो, मानव जीवनका आर्थिक–सामाजिक–सांस्कृतिक विविध पक्षको समन्वय–सङ्गम–सहभावना–सहकार्यको कुशल साधन र समाजको परिचायक प्रतिष्ठा हो भन्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय