कैलाली । कैलालीका सामुदायिक वनमा वन्यजन्तुलाई पानी खानका लागि पोखरी निर्माण गरिएको छ । जिल्लाको लम्की चुहा नगरपालिका–१ मा रहेको चेतना सामुदायिक वन, वडा नं ३ मा रहेको मुक्तकमैया सामुदायिक वन, जानकी गाउँपालिका–८ र ९ स्थित अमरावती सामुदायिक वन र मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ ।
वन तथा वातावरण मन्त्रालयको ‘एकीकृत भूपरिधि व्यवस्थापन आयोजना’अन्तर्गत पोखरी निर्माण गरिएको हो । पोखरी निर्माणसँगै कैलालीको कर्णाली कोरिडोरमा वन जनावर र जैविक विविधता संरक्षणका विभिन्न काम गरेको छ ।



कर्णाली करिडोरअन्तर्गत जिल्लाको लम्किचुहा र टीकापुर नगरपालिका, मोहोन्याल र जानकी गाउँपालिका जोडिन्छ ।जङ्गलमा पोखरी निर्माणसँगै वन्यजन्तु पानी खान आउन थालेको छ । जालपा सामुदायिक वनका अध्यक्ष मानबहादुर खत्रीले जंगलमा पाटेबाघ, चित्तललगायतका वन्यजन्तु पानी खानका लागि पोखरीमा आउने गरेको बताउँछन् ।



