काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि डिस्पोजको तयारी गरेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको ‘साइनोभ्याक’ खोप प्रयोग नगरी म्याद सकिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विसर्जन गर्ने तयारी गरेको हो ।
धेरै मात्रा खोप भएकाले के कसरी विसर्जन गर्ने भन्ने विषयमा कार्यविधि बनाएर डिस्पोज मन्त्रालयको तयारी छ । बुस्टर डोजका लागि प्रयोग हुन नमिल्ने भएपछि विगत साढे दुई वर्षदेखि स्वास्थ्य सेवा विभागको केन्द्रीय भण्डारणमा खोप थन्किएका थिए । विश्व स्वास्थ्य संगठनले बुस्टर डोजका लागि प्रयोग गर्न नभनेपछि राष्ट्रिय खोप सल्लाहकार समितिले उक्त खोप नलगाउने निर्णय गरेको थियो । उक्त खोप २०७८ साल वैशाख १२ गते ३४ लाख ४३ हजार तीन सय ६० मात्रा र वैशाख १४ गते पाँच लाख ५६ हजार ६ सय ४० मात्रा चीन सरकारबाट अनुदानमा नेपाल आएको थियो ।



कोरोना भाइरसविरुद्धको बुस्टर डोजका लागि साइनोभ्याकको सट्टा फाइजर खोप प्रयोग गरिएको थियो ।



