काठमाडौं । लामो समयदेखिको खडेरीले आहत भएका महोत्तरीका किसानमा रोपाइँगर्न पाउने आशा पलाएको छ । सोमबार यता लगातार पानी परेपछि रोपाईँको आश बढेको हो । पछिल्लो पटक गएराति जिल्लाका अधिकांश ठाउँमा पर्याप्त पानी परेको छ । यस्तै गत बिहीबार र सोमबार पनि पानी परेको थियो ।
पछिल्ला तीन दिन परेको पानीले थप रोपाइँ नबढे पनि यसअघि रोपिएको धानलाई भने निकै राहत मिलेको किसानको भनाइ छ । अत्यधिक गर्मीले पहेँलिँदै गएको रोपो पछिल्ला वर्षाले निकै फेरिएको बर्दिबासका किसानहरुले बताएका छन् ।



पछिल्लो वर्षाले धानको रोपोसँगै उखु, सागसब्जी, मकै र कोदोसहितका बालीलाई चिस्यान मिलेको भङ्गाहा–४ रामनगरका ७५ वर्षीय किसान इस्लाम राइनको पनि भनाइ छ । “लामो रौदी (खडेरी) ले उखुका टुप्पा खङरङ्ग सुक्दै गएका थिए, पछिल्लो वर्षाले राम्रो चिस्यान भएपछि जादुजस्तै भएको छ, उखुका बोट फेरिँदै छन्,” उहाँले भन्नुभयो । यो वर्षाले धानबाहेकका बालीलाई अलिबारलाई पर्याप्त चिस्यान भएको छ । धानको रोपोमा भने ग¥हामा भरिनेगरी पानी चाहिएको किसान बताउँछन् ।
यसपालि लामो खडेरीले गर्दा महोत्तरीमा धान रोपाइँ निकै पछि सरेको छ । जिल्लाको कूल धानखेतीयोग्य जग्गा ४२ हजार ५०० हेक्टर मानिन्छ । तर साउन तेस्रो साता सुरू भइसक्दासम्म जिल्लामा ३५ प्रतिशत रोपाइँ नकटेको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयले जनाएको छ । रोपाइँ थप बढाउने गरी पानी पर्न नसके पनि पछिल्लो वर्षाले यसअघिको रोपोलाई भने निकै राहत दिएको कार्यालयले जनाएको छ ।



