काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीले दिल्लीस्थित तामाङको आफ्नै निवासमा आज निधन भएको जानकारी दिएका छन् ।
‘इन्डियन आइडल’को विजेता बनेपछि प्रशान्त तामाङ नेपाल र भारत दुवै देशमा अत्यन्त लोकप्रिय बनेका थिए । उनले नेपाली तथा हिन्दी भाषामा थुप्रै चर्चित गीतहरू गाएका छन् । गायनसँगै उनले अभिनय क्षेत्रमा पनि आफूलाई स्थापित गरेका थिए ।



उनको स्वरमा सजिएका थुप्रै नेपाली गीत श्रोतामाझ आज पनि उत्तिकै लोकप्रिय छन्। सरल व्यक्तित्व र प्रेरणादायी संघर्षका कारण उनी युवा पुस्तामाझ विशेष प्रिय थिए ।
प्रशान्त तामाङको निधनले नेपाली कला–संगीत क्षेत्र स्तब्ध भएको छ । सामाजिक सञ्जालमा उनका शुभेच्छुक, कलाकार तथा प्रशंसकहरूले शोक व्यक्त गरिरहेका छन् । घटनाको कारण र थप विवरणबारे आधिकारिक जानकारी आउन बाँकी छ ।



