काठमाडौं – गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणमा निस्किएका छन्। उनी बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास)को गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन आज भारत प्रस्थान गरेका हुन्। गृहमन्त्री बनेपछि गुरुङको यो पहिलो विदेश भ्रमण हो। उनको भ्रमण द्विपक्षीय औपचारिक भ्रमण नभई क्षेत्रीय सहकार्यअन्तर्गत आयोजना हुन लागेको बैठकमा सहभागिताका लागि केन्द्रित रहेको छ।
भारतको नयाँ दिल्लीमा असोज २७ गते आयोजना हुने बैठक भारतीय गृहमन्त्री अमित शाहको पहलमा हुन लागेको हो। बैठकमा नेपाल र भारतसहित बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री तथा सम्बन्धित उच्च अधिकारीहरू सहभागी हुनेछन्। बैठकमा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम रहेको छ। यद्यपि, भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्चस्तरीय राजनीतिक भेटघाटको कार्यक्रम तय नभएको गृहमन्त्री गुरुङको सचिवालयले जनाएको छ। गृहमन्त्री गुरुङ असोज २८ गते स्वदेश फर्किने कार्यतालिका रहेको छ।






